धनगढीः स्थानीय तह निर्वाचनको सरगर्मी बढ्दै जाँदा कैलालीका स्थानीय तहहरुमा को विजयी हुनसक्छ भनेर चुनावी जोड घटाउको चर्चा पनि हुन थालेको छ।
गत संविधानसभाको चुनावमा दलका उम्मेदवारले पाएको मत, नयाँ थपिएका मतदाता, राजनीतिक दलको सङ्गठनको प्रभाव र उम्मेदवारको लोकप्रियता एवम् क्षमतालगायतलाई आधार मानेर निर्वाचनमा कसले बाजी मार्न सक्छ भनेर नेता कार्यकर्ताबीच जोड घटाउ हुन थालेको हो।
चुनावी जोड घटाउमा नेता कार्यकर्ता भने आआफ्नै पक्षका उम्मेदवारले जित्ने दाबी गरिरहेका छन्। बाटो, सार्वजनिकस्थल, चिया पसलमा जमघट हुने दलका नेता कार्यकर्ताबीच चुनावको हारजितको प्रसङ्ग कोट्याउँदै कसले कुन वडाबाट कति मत पाउन सक्छ भनेर मतको हिसाब गर्नमा समेत व्यस्त देखिने गरेका छन्।
जिल्लाका १३ वटै स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रबीच नै कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। तर डगौरा थारु र कठरिया थारुको बाक्लो बस्ती रहेका स्थानीय तहहरुमा भने नेपाल लोकतान्त्रिक फोरमको पनि मुख्य दलहरुसँगै प्रतिस्पर्धा रहेको छ।
कैलालीमा भएको पहिलो संविधानसभाको निर्वाचनमा जिल्लाका सबै छवटा निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएकोमा दोस्रो संविधानसभाको चुनावको नतिजा भने पहिलेको भन्दा फरक आएको थियो।
दोस्रो संविधानसभा चुनावमा कैलाली क्षेत्र नं १ र ३ मा नेपाल लोकतान्त्रिक फोरम, क्षेत्र नं २ मा नेकपा एमाले, क्षेत्र नं ४ मा नेकपा माओवादी केन्द्र र क्षेत्र नं ५ र ६ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए।
तर, राज्यको पुनःसंरचनासँगै बनेका स्थानीय तहमा पहिलो पटक चुनाव हुन लागेको र मतदाताको सङ्ख्या थपिएको लगायतका कारण चुनावी नतिजा साबिकको जस्तो नभई फरक आउन सक्ने आँकलन गरिएको छ ।
सात नम्बर प्रदेशको एकमात्र उपमहानगर र प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको धनगढी उपमहानगरको प्रमुख र उपप्रमुखमा कसले बाजी मार्न सक्छ भन्ने चासो बढी देखिएको छ।
धनगढी उपमहानगर (कैलाली निर्वाचन क्षेत्र नं ६) मा दोस्रो संविधानसभा चुनावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मत अन्तरले विजयी भएकोमा उनले छाडेपछि भएको उपनिर्वाचनमा पनि नेपाली काँग्रेसकै पुष्करनाथ ओझा विजयी भएका थिए।
धनगढीको प्रमुख र उपप्रमुखमा २०४६ को राजनीतिक परिवर्तनपछि भएको पहिलो स्थानीय चुनावमा नेपाली कांग्रेस र दोस्रो चुनावमा नेकपा एमाले विजयी भएका थिए।
यद्यपि पछिल्लो पटक दोस्रो संविधानसभाको चुनावमा पाएको मतको आधार र पार्टीको सङ्गठन बलियो भएका कारण अहिले पनि धनगढी उपमहानगरको चुनावमा आफूहरु जित्नेमा कांग्रेस नेता कार्यकर्ता ढुक्क देखिन्छन्।
उपमहानगरको प्रमुख र उपप्रमुख पदमा सक्षम, योग्य र जनताको सुख दुःखमा साथ दिने उम्मेदवार तय गरेकाले आफूहरुको विजय सुनिश्चित रहेको दाबी कांग्रेसका स्थानीय नेता मनिराम देवलको छ।
पहिलो संविधानसभाको चुनावमा पाएको मतकै हाराहारीमा आफूहरु आइपुगेकाले उपमहानगरको चुनावमा आफ्ना उम्मेदवार विजयी हुने दाबी माओवादी केन्द्रका रमेश भट्टराई गर्छन्।
एमालेका स्थानीय एक नेताले देशका तीन प्रदेशमा भएको पहिलो चरणको निर्वाचनको परिणामले दोस्रो चरणको चुनावमा पनि एमाले विजयी हुने दाबी गरे ।
प्रमुख तीन दलका उम्मेदवारबीच कडा चुनावी प्रतिस्पर्धा भइरहँदा धनगढी उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यापारी गोपाल हमाल पनि दलका उम्मेदवारलाई कडा चुनौती दिइरहेका विष्लेषण एकथरि मतदाताले गर्न थालेका छन्।
कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहेका हमालले एमाले, कांग्रेस, राप्रपा र माओवादी केन्द्रका मत प्रभावित पार्नसक्ने देखिएकाले प्रमुख दलका उम्मेदवारका लागि उनी चुनौतीका रुपमा देखिएका छन्।
उपमहानगरको प्रमुख र उपप्रमुखमा क्रमशः कांग्रेसले नृप ओड र सुशीला मिश्र भट्ट, एमालेले दुर्गाप्रसाद जोशी र रुक्मिणी देवकोटा, नेकपा माओवादी केन्द्रले रामसमझ रानाथारु र शान्ति अधिकारी क्षेत्री, राप्रपाले विष्णुबहादुर साहु र जनककुमारी कुँवर, नेपाल लोकतान्त्रिक फोरमले प्रमुखमा प्रेम बिसी र उपप्रमुखमा दुर्गा कुश्मीलाई उठाउने निश्चित गरेको छ।
नेकपा माले, राष्ट्रिय जनमोर्चालगायतका दलबाट उपमहानगरमा उठ्ने उम्मेदवारको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
असार महिनाको उखरमाउलो गर्मीका बाबजुद पनि दलका नेता र उम्मेदवार असिनपसिन हुँदै घरदैलो, चुनावीसभाजस्ता कार्यक्रममा व्यस्त छन्। १९ वटा वडा रहेको धनगढीमा ७६ हजार ४३० मतदाता छन्।रासस