
बेइजिङः पूर्वी चीनमा रहेको एउटा पूर्व–प्राथमिक विद्यालयमा बिहीबार भएको विष्फोटमा बम प्रयोग भएको पुष्टि भएको छ।
विस्फोटमा आठ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका स्थानीय प्रशासनले जनाएको छ। मारिनेमा बालबालिका छन्।
विद्यालयको बाहिरपट्टिको सार्वजनिक बाटोमा हिँडिरहेका व्यक्ति पनि घाइते भएका छन् ।
चिनियाँ प्रहरीले गरेको अनुसन्धानबाट उक्त आक्रमणमा बमको प्रयोग गरिएको पाइएको छ। प्रहरीले अनुसन्धानपछि उक्त विस्फोटक पदार्थ बम रहेको पत्ता लागेको जानकारी दिएको छ।
प्रहरीले भनेको छ– सो विस्फोटक पदार्थ घरैमा निर्माण गरिएको हाते बम भएको र त्यो निकै शक्तिशाली पनि थियो। जसले गर्दा त्यति धेरै क्षति पुगेको छ।
शुक्रबार सार्वजनिक प्रहरी प्रतिवेदनमा भनिएको छ– उक्त पदार्थ बम रहेको थियो र एकजना २२ वर्षीय युवकले सो बम आत्मघाती रुपमा विस्फोट गराएको पाइएको छ। उसको पनि सोही बम विस्फोटमा परी ज्यान गएको छ।
जियाङ्सु प्रान्तका फेङ्सियन प्रदेशमा रहेको नर्सरीका बालबालिका अध्ययन गरिरहेको कक्षाकोठा नजिकै बिहीबार अपरान्ह सो विस्फोट भएको थियो।
ती युवा प्राथमिक विद्यालयनजिकै डेरा गरी बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको समाचारमा जनाइएको छ। उनमा स्वास्थ्यसम्बन्धी समस्या रहेको पाइएको पनि बताइएको छ। रासस/सिन्ह्वा