PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

दुई नम्बर प्रदेशबाट ११५९ कर्मचारी फिर्ता बोलाइँदै



रमेश वाग्ले

दुई नम्बर प्रदेशबाट ११५९ कर्मचारी फिर्ता बोलाइँदै

काठमाडौं : सरकारको स्थानीय तह निर्वाचन तेस्रो चरणमा गर्ने घोषणासँगै दुई नम्बर प्रदेशबाट निर्वाचन आयोगले १ हजार १ सय ५९ कर्मचारी फिर्ता बोलाएको छ। सरकारले दुई नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन गराउने निर्णय गरेसँगै आयोगले आठ जिल्लाका लागि खटाएका कर्मचारी फिर्ता बोलाउन लागेको हो। 

यसअघि पनि एकै चरणमा निर्वाचन गराउने गरी पठाएका मुख्य निर्वाचन अधिकृत र अधिकृतहरु फिर्ता बोलाइएको थियो। चुनाव दोस्रो चरणमा हुने भएपछि उनीहरुलाई आयोगले फिर्ता बोलाएको थियो। 

'निर्वाचन नै नहुने भएपछि कर्मचारी त फिर्ता बोलाउनै पर्यो,' निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, 'कर्मचारी फिर्ता बोलाउन त सजिलै छ तर, निर्वाचन सामग्री फिर्ता ल्याउन वा सुरक्षा गर्न के गर्ने भन्ने समस्या छ। यसबारे आयोगले निर्णय गर्दैछ।'

निर्वाचन आयोगले प्रत्येक तहमा मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा ११ र निर्वाचन अधिकृतको नेतृत्वमा ९ जनाका दरले कर्मचारी खटाएको थियो। 

दुई नम्बर प्रदेशका आठ जिल्लामा एक सय २७ स्थानीय तह छन्। त्यस मध्ये आठ जिल्लाका आठ जना मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा ८८ जना कर्मचारी खटिएका छन् भने बाँकी एक सय १९ स्थानीय तहमा ९ जनाका दरले एक हजार ७१ जना कर्मचारी खटिएका छन्। 

आयोगले ती सबै कर्मचरीलाई फिर्ता बोलाउन लागेको हो। थप भत्ता र सुविधासहित पठाइएका ती कर्मचारीको सुविधा भने निर्वाचन नभए पनि कटौती हुनेछैन।

कर्मचारी फिर्तासँगै निर्वाचन सामग्रीको सुरक्षा, पुन: प्रयोग र पुन: प्रयोगका लागि अयोग्य हुने सामग्रीका विषयमा निर्णय गर्न निर्वाचन आयोगको बैठक बसिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell