
विराटनगरः स्थानीय निकायको निर्वाचनमा ‘बदररहित मतदान’ गराउने उद्देश्यले मोरङमा मतदाता शिक्षा कार्यक्रम थालिएको छ।
मतदातालाई नाटकको माध्यमबाट मतदानको विधि सिकाउनुका साथै एफएम, पत्रपत्रिकाकाबाट प्रचार प्रसार र प्रत्येक वडामा मतदाता शिक्षिका कार्यक्रम सञ्चालन गरिएको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ।
ग्रामीण क्षेत्रका जनतालाई नाटकको माध्यमबाट आकर्षित गरी मतदान गर्ने तरिका र मतपत्र पट्याउने प्रक्रियाबारे जानकारी गराउने काम भएको छ। जिल्लाका १७ वटा निकायमा १८ पटकसम्म नाटक मञ्चन गरिएको थियो।
नाटक अघि करिब आधा घन्टासम्म नृत्य देखाएपछि मतदान कसरी गर्ने, मतपत्र कसरी पट्याउनेलगायतका विषयमा जानकारी गराइएको कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए।
सप्तरी र सिरहामा जेठ ३ गतेदेखि ८ गतेसम्म यसैगरी नाटक मञ्चन हुने सञ्जेलले बताए। यसअघि संविधानसभाको निर्वाचनमा झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा अन्य जिल्लाको तुलनामा बढी मत बदर भएकाले ती जिल्लाहरुमा ध्यान केन्द्रित गरिएको बताइएको छ।
प्रथम चरणको निर्वाचनमा काठमाडौँमै करिब १० प्रतिशत मत बदर भएकाले थप बढी सजगताका साथ मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको प्रमुख सञ्जेलले बताए। रासस