PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

सरकारी कार्यालयबीच समन्वय नहुँदा त्रिपुरेश्वर–नागढुङ्गा सडक विस्तारमा ढिलाई



रासस

सरकारी कार्यालयबीच समन्वय नहुँदा त्रिपुरेश्वर–नागढुङ्गा सडक विस्तारमा ढिलाई

  • पूर्णप्रसाद मिश्र 
काठमाडौंः सरकारी कार्यालयबीच समन्वय नहुँदा त्रिपुरेश्वर–नागढुङ्गा सडक विस्तारमा ढिलाइ भएको छ। 

सडक विस्तारका लागि सरकारी कार्यालयले लगाएको चिह्नअनुसार यसको दायाँबायाँ रहेका भवन भत्काउँन नसक्दा सडक विस्तारमा ढिलाइ भएको हो। 

सडकको दायाँबायाँ रहेका विद्युत् र नेपाल टेलिकमको पोल सारिएको छैन भने पोल नसार्दा काठमाडौँ सडक विस्तार आयोजनाले कालोपत्रे गर्न नपाएको आयोजना प्रमुख दीपक केसीले बताए। 

त्यस्तै, त्रिपुरेश्वरमा उद्योग विभागले भवन नभत्काउँदा समस्या परेको केसीले बताए ।

उद्योग विभागका महानिर्देशक शङ्कर अर्यालले १६ किलोमिटर लामो सडक विस्तारका लागि भत्काउनुपर्ने भवनमा एक हप्ताअघिसम्म कार्यालय रहेकाले भत्काउन नसकिएको र भवन खाली भएपछि पनि भत्काउने बजेट नभएर अड्किएको बताए। 

सडकको चौडाइ केन्द्रबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटर कायम गरिएको छ। 

काठमाडौँ उपत्यका विकास प्राधिकरणले यसअघि तोकेको मापदण्डका आधारमा बनेका संरचना बनाउन लगाएको चिह्नअनुसारका संरचना नभत्केपछि ढल बिच्छ्याउनसमेत समस्या परेको जनाएको छ। 

टेकुमा ६ वटा घरको डेढ मिटर भाग नभत्काउँदा टेकु–कलङ्की सडक विस्तार रोकिएको छ। यो सडक अहिले १६ मिटर छ। 

२२ मिटर सडक बनाउन दायाँबायाँ तीन/तीन मिटर बढाउनुपर्छ। यो भागमा विद्युत्को पोल राखिएकाले पोल सार्न सडकले नै बजेटको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको सडक विभागका इन्जिनियर प्रदीप श्रेष्ठको गुनासो छ। 

एक वर्षदेखि काम सुरु भएपनि सडक विस्तारले गति लिन नसकेपछि शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चन्द्रकुमार घिमिरेको नेतृत्वमा काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा भाइकाजी तिवारी, सडक विभागका महानिर्देशक गोपाल सिग्देल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलगायत सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिले सडक विस्तारमा आइपरेका समस्याको निरीक्षण गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए। 

सोल्टीमोडमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पानी ट्याङ्की, ढुङ्गेअड्डामा टेलिकमको भूमिगत केबल, तीनथानामा सर्वोच्च अदालतको ‘स्टे अर्डर’ले काम हुन सकेको छैन।

त्रिपुरेश्वर–नागढुङ्गाखण्डमा सर्वोच्च अदालतले १८४ घर नभत्काई यथास्थितिमा राख्न ‘स्टे अर्डर’ जारी गरेको आयोजनाले जनाएको छ। 

सडक अनुगमनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव घिमिरेले विस्तार कार्यमा सहयोग जुटाउन सरोकारवाला निकाय र स्थानीयवासीसमेत राखी संयन्त्र निर्माण गरिने प्रतिबद्धता जनाए। 

काठमाडौँ सडक डिभिजन कार्यालय–२ ले परोपकार पुल–ताहाचल क्याम्पस सडक विस्तार गरिरहेकामा एक घर नभत्कँदा एक वर्षदेखि सडक हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुने गरेको काठमाडौँ महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष ध्रुवनारायण मानन्धरले बताए। 

उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौँले २०७३ पुस २५ र २०७४ वैशाख १० गते डिभिजन सडक कार्यालय–२, काठमाडौँलाई पत्र लेखी महानगरपालिका वडा नं १३ सिट नं ११०३–१९ कित्ता नं २०६ र सिट नं ११०३–२०, कित्ता नं १५ र १६ मा निवेदन परी प्राविधिकबाट पुनः सीमाङ्कन भइसकेकाले त्यसैअनुसार विस्तार गर्न पत्र लेखेको थियो। सो पत्र अनुसार आफ्नो घर नभत्कने दावी घरधनी प्रमोद श्रेष्ठको छ। 

सानातिना समस्याले वर्षौंदेखि सडकको काम रोकिंदा हिउँदमा धुलोले घरमा बस्न नसकिने र वर्षामा घरभित्र हिलो छ्यापिने समस्या रहेको स्थानीयवासीको गुनासो छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell