
चितवनः दुर्लभ वन्यजन्तुको वासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल बढाइएको छ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार निकुञ्जको क्षेत्रफल २० दशमलव ६३ वर्गकिलोमिटर बढेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।
यसअघि निकुञ्जको क्षेत्रफल ९३२ वर्गकिलोमिटर रहेकामा ३८ वर्षपछि क्षेत्रफल थपिएर अहिले ९५२ दशमलव ६३ वर्गकिलोमिटर भएको सूचना अधिकारी अर्यालले बताए। निकुञ्ज स्थापनापछि क्षेत्रफल बढाइएको यो दोस्रो पटक हो।
राजपत्रमा प्रकाशित सूचनाअनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ दफा ३ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी सीमा हेरफेर गरिएको जनाइएको छ।
विसं २०६० तिर निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने पदमपुर गाउँलाई स्थानान्तरण गरिएको थियो। सरकारले स्थानान्तरण गरेको पुरानो पदमपुर क्षेत्रलाई जोडेर निकुञ्जको सीमा बढाइएको अर्यालले जानकारी दिए।
निकुञ्ज स्थापना हुँदा २०३० सालमा ५४४ वर्गकिलोमिटर क्षेत्र थियो त्यसको पाँच वर्षपछि २०३५ सालमा क्षेत्रफल वृद्धि गरी ९३२ वर्गकिलोमिटर बनाइएकामा ३८ वर्षपछि क्षेत्रफल पुनः बढाइएको निकुञ्जले जनाएको छ।
चितवन निकुञ्ज विश्व संरक्षण सूचीमा छ। नेपालको पहिलो संरक्षित क्षेत्र चितवन निकुञ्ज विश्वमै दुर्लभ वन्यजन्तुको मुख्य वासस्थान क्षेत्र भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए।
क्षेत्रफल बढेसँगै वन्यजन्तुको संरक्षणमा थप टेवा पुग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहा शाखाका संरक्षण अधिकृत सन्तोष भट्टराई बताउँछन्।
चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लामा पर्ने निकुञ्जमा पछिल्लो गणनाअनुसार गैँडा ६०५, बाघ १२०, गौरीगाई ३६८ छन्। यसको मध्यवर्ती क्षेत्र भने ७२९ वर्गकिलोमिटर छ। रासस