PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

मनसुन सक्रिय नहुनको कारण यस्तो छ, सक्रिय हुन अझै केही दिन लाग्ने



रासस

मनसुन सक्रिय नहुनको कारण यस्तो छ, सक्रिय हुन अझै केही दिन लाग्ने

  • सिवी अधिकारी 
काठमाडौंः  सामान्य अवस्थाभन्दा केही दिन ढिलोगरी सुरु भएको यो वर्षको मनसुन अझै सक्रिय हुन सकेको छैन। 

गत जेठ २९ गते (१२ जुन) बाट नेपालको पूर्वी भागमा प्रवेश गरेको मनसुन पूर्णरुपमा सक्रिय हुन नसक्दा वर्षा राम्रो हुन सकेको छैन।

असारको मुखमा वर्षा नहुँदा रोपाइँ गर्न नपाएर किसान चिन्तित छन् । केही दिनयता मौसममा फेरबदल भइरहे पनि पर्याप्त वर्षा हुन सकिरहेको छैन। 

मनसुनको आगमन पूर्वमा कमजोर तरिकाले आएको हुँदा यो सक्रिय हुन नसकेको मौसमविद् सुवास रिमालले जानकारी दिए। 

उनले भने,“मनसुनी वर्षा राम्रो हुनका लागि पश्चिमी वायुको प्रभाव कम हुनुपर्छ तर यो वायु अझै पनि रहिरहेको छ, मनसुनी वायुले पश्चिमी वायुलाई धकेलेर सिथिल पार्ने कार्य सोचेजस्तो भएको छैन।” 

मनसुनी वायु क्रमिक रुपमा बढ्दै गएकाले शनिबार र आइतबारदेखि मध्य र पश्चिमी भेगमा अझ बढ्ने र देशका धेरै स्थानमा वर्षा हुने उनले बताए। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भागमा मनसुन प्रवेश गरेको भएपनि मनसुन पू्र्णरूपमा सक्रिय हुन र देशका बाँकी भागमा फैलन अझै केही दिन लाग्नेछ। 

नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्छ। यस आधारमा यो वर्षको मनसुन दुई दिन ढिला गरी सुरु भएको छ। 

नेपालमा साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ।

उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८०५ वर्षा हुनेगर्छ। सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ। सरदर वर्षाको ९०५ देखि ११०५ सम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मनिन्छ। 

मनसुन अरविक भाषा मौसिमबाट आएको हो। यसको अर्थ ‘रिभर्सल अव विण्ड’ हुन्छ। मनसुन हुनुभन्दा पहिला नेपालमा वायु पश्चिमबाट पूर्वतिर बहन्छ। 

मनसुनी वायु क्रमिक रुपमा पश्चिमतर्फ सर्दै विस्तारै गति लिने क्रममा रहेको मौसमविद्ले बताएका छन्। 

भारतमा सामान्य समय भन्दा अघि मनसुन आएको थियो। नेपालमा पनि चाँडै आउने अनुमान गरिएको थियो, तर त्यसको ठीक उल्टो केही दिन ढिलागरी मनसुन प्रवेश गरेको छ। 

मनसुन ढिलो प्रवेश गरी सक्रिय बन्न नसकेको भएपनि वायुमण्डलको वातावरण धेरै राम्रो रहेकाले आगामी दिनमा वर्षा हुने वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले बताए। 

उनका अनुसार एक साताअघि बङ्गालको खाडीमा न्यूनचापीय क्षेत्र कडा भएकाले बढी पानी पर्यो, जसका कारण नेपालमा मनसुन शक्ति कमजोर पार्यो । 

महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी सिमरामा १०८, धनगढीमा ४६, पोखरामा ३६, ओखलढुङ्गामा १५, डडेल्धुरामा आठ, विराटनगरमा तीन र दिपायलमा दुई मिलिमिटर वर्षा भएको छ। आज काठमाडौँको न्यूनतम २० र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell