डडेल्धुराः स्थानीय तहको निर्वाचनको रौनक डडेल्धुरामा ह्वात्तै बढेको छ । कैलाली, कञ्चनपुरको तुलनामा चुनावी रौनक पहाडी जिल्लामा बढी देखिएको छ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा यस पटक प्रमुख तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिएको छ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्वाचनमा एकले अर्कालाई मुख्य प्रतिस्पर्धीका रुपमा देखिरहेका छन्।
नेकाले एमालेलाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरेको छ भने एमाले र माओवादी केन्द्रले कांग्रेसलाई मुख्य प्रतिस्पर्धी ठानिरहेका छन्।
डडेल्धुरामा संसदीय निर्वाचनमा कांग्रेसले एकलौटी विजय हासिल गर्दै आएकाले स्थानीय तहको निर्वाचनमा दुईवटा नगरपालिकासहित सातवटै तहमा आफ्नो पक्षमा आउनेमा पार्टी पङ्क्ति आशावादी देखिएका छन्।
यसअघिको स्थानीय तहको निर्वाचनमा झन्डै एक दर्जन गाविसमा विजयी हासिल गरेको एमालेले पनि यहाँका अधिकांश नगर र गाउँपालिकामा यसपटक पनि विजयी हुने दाबी गर्दैआएको छ।
कांग्रेसभित्रको टिकट वितरणको असन्तुष्टिको फाइदा उठाउने रणनीतिमा अन्य दल छन्। माओवादी केन्द्रले पनि डडेल्धुरा जिल्लाभर चुनावी घरदैलोलाई तीव्रताका साथ अघि बढाइरहेकोछ ।
डडेल्धुराका अधिकांश तहमा प्रमुख तीन राजनीतिक दलबीच नै चुनावी प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ।
उता, कांग्रेस नेताले भने आफ्नो मुख्य प्रतिस्पर्धी एमाले रहेको बताइरहेका छन्।
कांग्रेस महासमिति सदस्य गोविन्दराज बोहराले आलिताल गाउँपालिकामा माओवादीसहित र बाँकी ६ वटै तहमा एमालेसँग प्रतिस्पर्धा हुने दाबी गरे।
नमुना जिल्ला बनाउन पार्टी र उम्मेदवारसँग स्पष्ट खाका रहेको बोहराको भनाइ छ। डडेल्धुरामा भड्किलो चुनावी प्रचारमा जोगबुढास्थित परशुराम नगरपालिका अगाडि रहेको छ।
परशुरामसँगै आलिताल गाउँपालिकामा पनि चुनावी माहोल अन्यत्र भन्दा बेग्लै छ। डडेल्धुराको सदरमुकाम बाजगजार र आसपासको क्षेत्र चुनावी उत्सवले छपक्कै छोपिएको छ।
कांग्रेसमा असन्तुष्टि
डडेल्धुरामा कांग्रेसले यहाँका सबै तहमा उम्मेदवार टुङ्गो लगाए पनि पार्टीभित्र आकांक्षी धेरै भएकाले असन्तुष्टि बढेको छ।यहाँका एकाध वडास्तरबाहेक अन्य सबै माथिल्लो तहका उम्मेदवार चयनमा समस्या भएको छ। पार्टी नेतृत्वले राम्रा भन्दा आफ्ना नजिककालाई टिकट दिएको भन्दै कार्यकर्ता असन्तुष्टि व्यक्त गरिरहेका छन्।
पार्टीले ढिलो गरी उम्मेदवार चयन गरेर चुनावी प्रचार थाले पनि पार्टीभित्रैका अन्य आकांक्षीलाई मनाउन समय खर्च गर्नुपरेको छ।
केही आकांक्षी स्वतन्त्र उम्मेदवारी दिने चेतावनीसमेत दिइरहेका छन्। हरेक पदमा आधा दर्जन भन्दा बढी आकांक्षी हुँदा व्यवस्थापनमा समस्या भएको कांग्रेस नेताको भनाइ छ ।
टिकट वितरणकै विषयमा जोगबुढा परशुराम नगरपालिकाका नगर सभापति तारीसिंह बोहराले केही समयअघि पार्टीबाट राजीनामा दिएका थिए ।
बोहरा अहिले एमालेबाट परशुराम नगरपालिकाका प्रमुख पदका उम्मेदवार बनिसकेका छन्। रासस