जेनेभाः राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार युरोपेली पारमाणविक अनुसन्धान सङ्गठन (सर्न) को अवलोकन भ्रमण गरेकी छन्।
राष्ट्रपति भण्डारी सन् १९५२ मा स्थापना भएको युरोपेली पारमाणविक अनुसन्धान सङ्गठनको कार्यालयमा आइपुग्दा सदस्य तथा गैरसदस्य मुलुकसँग सम्बन्धका प्रमुख ई. सेस्मेलिसका साथै सङ्गठनमा कार्यरत नेपाली वैज्ञानिक ए. शर्मा तथा एस. श्रेष्ठले स्वागत गरे।
भ्रमणका क्रममा प्रमुख सेस्मेलिसले सङ्गठनका क्रियाकलापका विषयमा जानकारी दिएका थिए। त्यस क्रममा उनले सङ्गठनले विश्व तथा नेपालमा गरेका क्रियाकलाप र नेपाली वैज्ञानिकलाई उपलब्ध गराएको अवसरका विषयमा जानकारी दिए।
छलफलका क्रममा राष्ट्रपति भण्डारीले सङ्गठनले मानव शान्तिका लागि बैज्ञानिक अनुसन्धान तथा विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै नेपाली वैज्ञानिक तथा विज्ञानका विद्यार्थीलाई सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरिन्।
उनले नेपाल भूकम्पको जोखिममा परेको मुलुक भएकाले यसबाट जोगाउन सर्नले गर्नसक्ने कार्यका विषयमा जिज्ञासा राखेका थिए।
सङ्गठन भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले सिन्क्रोसाइक्रोट्रोनको पनि अवलोकन गरिन् । यस भवनमा एस. पेटिटले सङ्गठन तथा उर्जा भौतिकशास्त्री अनुसन्धानमा भएका विषयमा छोटो प्रस्तुती गरेका थिए।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले ‘कन्ट्रोल रुम’को निरीक्षण गरिन्। ‘कन्ट्रोल रुम’मा उनलाई सहयोग सम्बन्धका पूर्व प्रवक्ता डी चाल्र्टन तथा नेपाली वैज्ञानिक एस श्रेष्ठले यस कक्षमा आफूहरुको गर्नुपर्ने कामका विषयमा जानकारी गराएका थिए।
सर्न संयुक्त राष्ट्र सङ्घको आधिकारिक पर्यवेक्षक निकाय हो र यसलाई वैज्ञानिक प्रयोगशालाको रुपमा लिइन्छ। यसले उच्च उर्जा भौतिकशास्त्रीय अनुसन्धानको काम गर्छ।
यसमा व्यापक तथ्याङ्कको व्यवस्था भएकाले यससँग विश्वभरबाट नेटवर्कमा काम हुन्छ । वल्ड वाइड वेबको आरम्भ पनि यसै संस्थाबाट भएको हो ।रासस