
जेनेभा: इस्लामिक स्टेट (आइएस) जिहादी समूहले इराकको प्राचीन सहर मोसुलमा एक लाखभन्दा बढी सर्वसाधारणलाई मानवीय ढाल बनाउने उद्देश्यले कब्जामा राखिरहेको हुनसक्ने भन्दै संयुक्त राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ।
सन् २०१४ मा विद्रोहीले नियन्त्रणमा लिएको र मोसुल सहर र वरपरका क्षेत्रमा बसोबास गर्ने नागरिकमाथि वर्वर शासन गरिरहेको मानवअधिकारकर्मीले बताउँदै आएका छन्।
सन् २०१४ मा गुमाएको सहरलाई पुनः सरकारी नियन्त्रणमा लिने प्रयास स्वरुप सेनाले विगत केही महिना यता सुरक्षा कारबाही चलाउँदै आएको छ।
सरकारले मोसुलको अधिकांश भाग सेनाले नियन्त्रणमा लिइसकेको बताएपनि विद्रोहीद्वारा निरन्तर नागरिकलाई बन्धक बनाउने र आफ्नो अनुकुल युद्धमा प्रयोग गर्दै आएको छ।
राष्ट्रसङ्घको शरणार्थी मामिला हेर्ने संस्थाका इराकस्थित प्रतिनिधि ब्रुनो गेडोले आइएसले मोसुल वरपरका नागरिकलाई लगातार बन्धक बनाउने र युद्धमा प्रयोग गर्ने गरेको बताएका छन्।
प्राचीन सहर मोसुलमामात्र करिब एक लाख सर्वसाधारणलाई अझै नियन्त्रणमा लिइरहेको राष्ट्रसङ्घका प्रतिनिधि गेडोले बताए।
हामीलाई थाहा भए अनुसार आइएस र सुरक्षकर्मीवीच भीडन्त भइरहेको क्षेत्रबाट सर्वसाधारण विस्तापित भइ अन्यत्र जाँदै गरेका सर्वसाधारणलाई नियन्त्रणमा लिएका छन्। स्थानीय दायश वा आइएसआइएल समूहको नाममा उनीहरुलाई नियन्त्रणमा लिएको हो।
उनीहरूलाई खाद्यान्न, खानेपानी वा विद्युतको अभावकाबीच राखिएको र उनीहरूको दयनीय अवस्था रहेको राष्ट्रसङ्घले जनाएको छ।
नौ महिना पहिले मोसुलमा भिडन्त सुरुभएपछि आठलाख ६२ हजार मानिस विस्तापित भएकामा करिव दुई लाख मानिस मोसुलको सेनाद्वारा नियन्त्रणमा लिइएको पूर्वी क्षेत्रमा फिर्ता भएका छन्।
अझैपनि छ लाख ६७ हजार मानिस विस्तापित रहेका र उनीहरूलाई विभिन्न १३ वटा शिविर खडा गरी यूएनएचसीआरको रेखदेखमा राखिएको छ। रासस/ एएफपी