
- नरहरि पौड्याल
बृद्ध उमेरमा नियमित विद्यालय गएर माध्यमिक तहको शिक्षा अध्ययन गर्दै आएका विकलाई एसइइमा सफल भएपछि उच्च शिक्षाको बाटो खुलेको छ। उनी एक दशमलव २ जिपिए अर्थात् डि ग्रेड ल्याएर सफल भएका हुन्।
फेदीखोलास्थित खड्केटारीको कालाभैरव माविबाट दुर्गेसहित २३ जनाले परीक्षा दिएका थिए।
१६ वर्षअघि जीवनसंगीनी रूपालाई गुमाएका विकका चार छोरा, तीन छोरी र नौ नातिनातिना छन् ।
सानोमा विद्यालय गएर पढ्ने धोको हुँदाहुँदै आर्थिक अभावका कारण बीचमै पढाइ छाडेका विकले संघर्षपूर्ण जीवनको उत्तराद्र्धमा आएर आफ्नो धोको पुरा गरेका छन्।
छोराछोरी हुर्किएर आ–आफ्नो बाटोलागेपछि उनी गाउँकै कालाभैरव माविमा कक्षा ६ मा भर्ना भएर अध्ययनलाई निरन्तरता दिदै आएका थिए।
उनी अहिले पनि ज्यालादारी गरेर दैनिक खर्च चलाउँदै आएका छन्।
विद्यालय समयमा लौरोको सहारामा नियमित विद्यालय हाजिर हुने गरेका उनले बिदाको दिन अरूको मेलापात गएर घरखर्च जुटाउने गरेका छन्।
विकले एसइइमा पाएको सफलताले बेग्लै किसिमको हैसला मिलेको बताए। ‘झोला बोकेर पढ्न जाँदा मलाई जिस्काउनेहरु पनि दङ्ग परेका छन्।’उनले भने ‘वर्षौंदेखिको मेरो सपना पुरा भएको छ।’
आर्थिक अवस्था कमजोर रहेका विकको उच्च शिक्षा अध्ययनका लागि कसैले सहयोग गरेको अवस्थामा राम्रो क्याम्पसमा भर्ना भई पढाइ पूरा गर्ने धोको छ।