काठमाडौंः राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रमुख तीन दलले देश विखण्डन गर्न खोजेकाले आफूहरुले देश जोगाउनका लागि बाध्य भएर शान्तिपूर्ण संघर्षका कार्यक्रम सार्वजनिक गरेको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा महतोले कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मिलेर देश विखण्डन गर्न लागेको आरोप लगाए।
उनले भने,‘तीन दलले देश भाँड्न र विखण्डन गर्न लागेकाले बाध्य भएर हामीले शान्तिपूर्ण आन्दोलन सार्वजनिक गरेका हौं।’
उनले मधेसी, जनजाति र थरुहटको समस्या समाधान नगरी गरिने निर्वाचनमा आफूहरु कुनै पनि हालतमा भाग नलिने जिकिर गरे। उनले भने,‘हाम्रा समस्याहरु समाधान नभएसम्म हामी कुनै पनि निर्वाचनमा भाग लिंदैनौं, यो हाम्रो बटमलाइन हो।’
महतोले ठूला दलले मधेश र थरुहटलाई एक हुन नदिन षड्यन्त्र गरिरहेको आरोप लगाउँदै भने,‘यो के गर्न खोजेको हो ? मधेस र थरुहट एक हुनै नदिने ? मैले हजार चोटी भनिसकें कि तीन ठूला दल भनेको खसवादी, हठवादी हुन्, यीनीहरुले मुलुकलाई समस्यामा फसाउने कामगरिरहेका छन्।’
उनले मधेश र थरुहटलाई टुक्रा–टुक्रा पारेर गरिने चुनावले कसैको हित नगर्नेसमेत ठोकुवा गरे ।
उनले प्रदेश नम्बर २ को निर्वाचनको मिति सार्ने कुरामा आफूहरुको कुनैपनि सहमति नरहेको जिकिर गरे । उनले सरकारलाई मुर्खको संज्ञा दिँदै भने,‘अरे, मुर्ख! हदको पनि सिमा हुन्छ नि, २ नम्बर प्रदेशमात्रै मधेस हो र?’