
प्रत्येक महादेशका महादेशिय च्याम्पियनहरुले खेल्ने फिफा कन्फेडेरेसन कप फुटबल प्रतियोगिता आजबाट रसियामा सुरु हुँदैछ।
जसमा विश्व विजेता जर्मनी र आयोजक रसियासँगै छ महादेशिय च्याम्पियनले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
समूह ए मा रसियासँगै न्यूजिल्याण्ड, पोर्चुगल र मेक्सिको छन् भने जर्मनी, क्यामरुन, चिली र अष्ट्रेलिया समूह बी मा छन्।
यस्ता छन् यस पटकको कन्फेडेरेसन कपको विशेषता
रसियामा खेल्ने ८ टोलीमध्ये एक मात्र पूर्व विजेता मेक्सिको हो। मेक्सिकोले सन् १९९९ मा घरेलु मैदानमा भएको प्रतियोगिता जितेको थियो। सर्वाधिक ४ पटकको च्याम्पियन ब्राजिल भने यसपटक सहभागि छैन।
मेक्सिकोका राफेल मार्क्वेज यस पटक कन्फेडेरेसन कपका लागि घोषित टोलीका सबैभन्दा पाका खेलाडी हुन्। ३८ वर्ष ४ महिनाका मार्क्वज कन्फेडेरसन कप खेल्ने इतिहासकै दोस्रो बढी उमेका खेलाडी हुनेछन्। सन् २००५ मा ट्युनिसियाका गोलकिपर अली बवउमिजेलले ३९ वर्षको उमेरमा खेलेका थिए। यस्तै, मार्क्वेज यसअघि नै कन्फेडेरेसन कप उपाधि जितिसकेका खेलाडी हुन्।
न्यूजिल्याण्डका एन्टोनी हडसन कन्फेडेरेसन कपमा सहभागी सबैभन्दा कम उमेरका प्रशिक्षक बन्दैछन्। रसियाविरुद्धको उद्घाटन खेलमा 'अल ह्वाइट'को प्रशिक्षण सम्हाल्दा उनको उमेर ३६ वर्ष ९८ दिन हुनेछ।
रसियामा पुग्ने टोलीमध्ये चिलीयन टोलीका खेलाडीको औषत उमेर सबैभ्नदा बढी तथा जर्मनीका टोलीको औषत उमेर सबैभन्दा कम छ। चिलीको औषत उमेर २९ छ भने जर्मनीको २४ छ।
आयोजक रसियासँगै चिली र पोर्चुगलको यसपटकबाट कन्फेडेरेसन कपमा डेब्यु हुनेछ।
मेक्सिकोले ब्राजिलसँगै सर्वाधिक ७ पटक कन्फेडेरेसन कप खेल्ने कीर्तिमान बराबरी गर्नेछ।
अहिलेसम्म भएका ९ संस्करणमध्ये ब्राजिलले सर्वाधिक ४ पटक उपाधि जितेको छ फ्रान्स २ पटक च्याम्पियन बनेको छ। यस्तै मेक्सिको, अर्जेन्टिना र डेनमार्कले एक एक पटक उपाधि जितेका छन्। यस पटक मेक्सिको च्याम्यन बने फ्रान्ससँगै दुई उपाधि जित्ने राष्ट्र बन्नेछ।
यसपटक युरोपबाट आयोजक रसियासँगै विश्व विजेता जर्मनी र युरो च्याम्पियन पोर्चुगल सहभागि हुँदैछन्। कन्फेडेरेसन कपको इतिहासमा एउटै महादेशबाट ३ टोलीले प्रतिपर्धा गर्न लागेको यो पहिलो पटक हो।
सेन्ट पिटर्सवर्ग, मस्को, कजान र सोची गरी रसियाको चार शहरमा कन्फेडेरेसन कप सञ्चालन हुनेछ।