
काठमाडौंः राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङको डेब्यु चलचित्र ‘भूईँमान्छे’को प्रदर्शन मिति दुई सातापछि धकेलिएको छ।
साउन २० गतेदेखि प्रदर्शनमा आउने तयारीका साथ टिजर सार्वजनिक गरिएको ‘भूईँमान्छे’ले सो मितिमा हल नपाउने भएपछि पछि धकेलिएको हो।
शाहरुख खान अभिनित चलचित्र ‘जब ह्यारी मिट सेजल’ ले अगष्ट ४ अर्थात् साउन २० गतेलाई प्रदर्शन मिति तोकेपछि ‘भूईँमान्छे’को प्रदर्शन मिति फेरबदल गर्नुपरेको निर्देशक नवराज बुढाथोकीले जानकारी दिएका छन्।
त्यसलगत्तै अक्षय कुमार अभिनित चलचित्र ‘ट्वाईलेट एक प्रेम कथा’ प्रदर्शनमा आउने भएकाले चलचित्र वितरकको सल्लाहमा ‘भूईँमान्छे’ को प्रर्दशन मिति २ साता पछि सरेको हो।
बलिउड स्टार अभिनित चलचित्र प्रदर्शनमा आएपछि नेपाली चलचित्रले हल पाउनै मुश्किल रहेकाले बाध्यतावश चलचित्र प्रदर्शन मिति सारिएको निर्देशक बुढाथोकीले बताए।
पोस्टमार्टम गर्ने व्यक्तिको कथामा केन्द्रित ‘भूईँमान्छे’ मा रमेश बुढाथोकी, सहिन प्रजापति, बादल भट्टलगायत शैली थिएटरका कलाकारको अभिनय छ। लामो समयदेखि नाटक निर्देशन गर्दै आएका बुढाथोकीले यसअघि चलचित्र वनफूल निर्देशन गरेका थिए।
वरिष्ठ रंगकर्मी अभिनित वनफूल अहिलेसम्म प्रर्दशनमा आएको छैन। वनफूल भन्दा अघि रोहिणी भट्टराईको लगानीमा निर्माण भएको उनको दोश्रो चलचित्र ‘भूईँमान्छे’ प्रर्दशनमा आउन लागेको हो।
भूईँमान्छेसँगै भदौ २ गते हेमराज बिसी निर्देशित चलचित्र ग्याङस्टार ब्लुज पनि प्रर्दशनमा आउँदैछ।