
नयाँदिल्लीः भारतका राष्ट्रपति प्रणव मुखर्जीले आफ्नो पाँच वर्षे कार्यकालमा मृत्युदण्डको सजाय सुनाइसकिएका ३० जना अपराधीलाई माफी दिन अस्वीकार गरेका छन्।
पछिल्लो पटक मे महिनाको अन्तिम हप्ता राष्ट्रपति मुखर्जीले दुई जनालाई माफी दिन अस्वीकार गरेका भारतीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्।
उनले माफी दिन गरेका मध्ये एकजना चार वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त पनि थिए। इन्डोरको मध्यसहरमा भएको त्यो घटनामा उनीसँगै अरु तीन जना पनि संलग्न थिए ।
त्यसैगरी, माफी नपाउने अर्का व्यक्ति भने सन् २००७ मा पश्चिमी सहर पुनेमा मानव हत्यामा संलग्न व्यक्ति हुन्।
दुई घटनामध्ये पहिलो घटनामा संलग्न तीन जना र दोस्रो घटनामा संलग्न दुई जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाइसकेको छ। राष्ट्रपतिले उनीहरुको आममाफीको अपिल नसुनेपछि अब उनीहरुलाई झुण्डाएर फाँसीको सजाय दिइनेछ।
राष्ट्रपतिबाट माफी पाउन अस्वीकार भएका अरु २८ जना मध्ये एक जना मुम्बइमा सन् २००८ मा भएको नरसंहारमा संलग्न अजमाल अमिर कसाब पनि रहेका छन्।
अब राष्ट्रपति मुखर्जीसमक्ष आममाफी दिन गरिएका अपिलको सूची पनि छैन। उनको पुर्ववर्ती प्रतिभा पाटीलले दोषी ठहर भएका ३४ जनालाई माफी दिएकी थिइन् । मुखर्जीको कार्यकाल आगामी महिना सकिंदैछ। रासस/सिन्ह्वा