PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

यसकारण निस्किएन कतार सङ्कट समाधानको बाटो 



रासस

यसकारण निस्किएन कतार सङ्कट समाधानको बाटो 
फोटो श्रोतःtilytravels.com

  • एकराज पाठक 
काठमाडौंः पाँच वर्षअघि कतारले विश्वकप फुटबलको आयोजना गर्न सक्छ या सक्दैन भन्ने बहस पश्चिमा विश्वले सुरुगर्दा जस्तो अन्यौल थियो, ठीक त्यस्तै अनिश्चितता र अन्योल आज पुनः छाएको छ कतारमा त्यस विषयमा। 

तर, यतिखेरको अन्योलको पृष्ठभूमि भने बेग्लै छ । उसँग गल्फ क्षेत्रका आफ्नै छिमेकीले सम्बन्ध विच्छेद गरेकाले नयाँ तनाव जन्माएको हो।

यसले कतारको उही केही पुरानो घाउमा बसेको खाटा फेरि उप्काइदिएको छ। त्यस समय प्रायः पश्चिमा मिडियाबाट बारम्बार आउने समाचार थियो– कतार खाडी राष्ट्र हो त्यसैले उसले विश्वकप जस्तो ठूलो ‘इभेन्ट’ सम्पन्न गर्न सक्दैन।

तर, आज भने कतार खाडी भएकैले विश्वकप आयोजना गर्न नसक्ने भएको होइन कि छिमेकीको असहयोगबीच कसरी त्यो सम्भव होला भन्ने नयाँ बहसको सुरुवात भएको छ। 

विश्वकप फुटबल संसारकै खेलकूद क्षेत्रको एक महाकुम्भ हो। सन् २०२२ मा कतारले यो महाकुम्भको आयोजना गर्ने एउटा ठूलो र महत्वाकांक्षी अवसर पाएको थियो र त्यो सपना देखिनै रहेको छ।

उसले ती सपना पूरागर्ने केही आधारहरु केही त निर्माण पनि गरिरसकेको छ । र कतारजस्तो खाडी राष्ट्रको राजधानी दोहालाई उसले मानवनिर्मित डाँडाहरु र हरियालीमा पनि परिणत गरिरहेको छ  यो देख्दा लाग्छ, विश्वकपको आयेजना गर्ने उभित्रको उत्कट चाहनाको अभिव्यक्ति दिनरातको निकै लगनशील परिश्रमबाटै अभिव्यक्त भएको छ । 

तर, बिगतमा अनेक जोड र बलले चाहनाहरुलाई साकार पार्न सफल भएको ठानिएका बेला अहिले आएर कतारमाथि अकल्पनीय बज्रपात भएको छ।
धर्म, बर्ण, सम्प्रदाय, भूगोल र अरु धेरैकुरा मिल्ने आफ्नै छिमेकी देशहरुबाट सम्बन्ध विच्छेदसम्मको कठोरता व्यहोर्नुपर्ने अवस्था एकातर्फ छ भने अर्कातर्फ बिगतमा नै जीवनमरणको सवाल बनाइएको विश्वकपको आयोजनाजस्तो ऐतिहासिक अवसरले बिदा लिने पो हो कि भन्ने त्रासले उसलाई यतिखेर सताएको छ। 

गत जुन ५ मा एकाएक कतारका गल्फका छिमेकीहरु साउदी अरेबिया, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र गल्फभन्दा टाढाको दक्षिण एसियाली देश मालदिभ्सले समेत कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका थिए। यो कतारका लागि ठूलो संकटपूर्ण धक्का हो।

उसले नसोचेको यो कूटनीतिक नाकाबन्दी लगाउनुको कारणलाई ती देशले आतंकवादसँग जोडेका छन् भने कतारले भने यसको कारणको खोजी गर्ने जनाएको छ । 

कतारले मुस्लिम अतिवादीहरुलाई आश्रय र प्रश्रय दिएको आरोप ती देशको छ । तर कतारले भने यसको ठाडै अस्वीकार गर्दै आएको छ । उसले यो सबै कतारलाई उसको विकासबाट अत्तालिएकाहरुले देशलाई नै तहस नहस बनाउने उद्देश्यले गरिएको षड्यन्त्रको रुपमा आफ्नो तर्क राख्दै आएको छ।

तर यी आठ देश भने मानौँ कि कतारले नै विश्वमा आतंककारीहरुको प्रवर्धन गरेको भन्नेजस्तो गरी दोषारोपणमा उत्रिएका छन्। ती देशहरुले उनीहरुकै शब्दमा उनीहरुको शत्रु राष्ट्र मानिएको इरानसँगको सम्बन्धलाई अघि बढाई उसको प्रशंसा गरेको र मुस्लिम ब्रदरहुडलाई समर्थन गरेको आरोप कतारमाथि लगाएका छन्। 

अरेबियन प्रायद्धीपको उत्तरपूर्वमा पर्ने र जम्मा २६ लाखामात्र जनसंख्या रहेको यस राष्ट्रले छोटो समयमै विश्वको धनी देशको पहिचान बनाउन सकेको थियो। विश्व मानचित्रमा एक सम्पन्न र अरबमध्येको पनि तेलको कुवाका रुपमा सुपरिचित यस देशलाई यो पछिल्लो नाकाबन्दीले धेरै नै असर पार्ने देखिन्छ । 

तर त्यसको आँकलन भने कतारले अहिलेलाई गरेको छैन । कतारले भनेको छ–आफूसँग कुनै कुराको खाँचो छैन र आवश्य पर्दा जस्तोसुकै परिस्थितिसँग पनि राम्रैसँग र डटेर सामना गर्न सकिन्छ । आजका मितिसम्म पनि कतारले आफ्नो यो असहजताको समाधान सजिलोसँग गर्नेगरी विकल्पहरु प्रस्तुत गरिआएको छ । 

कतारले आफ्नो राष्ट्रियता र सावैभौमसत्ताको पक्षमा यस्तो ढाडस दिए पनि लगभग विश्वकै उडान क्षेत्रको मुख्य ट्रान्जिट रहेको कतारको राजधानी सहर दोहा यतिखेर धेरै फुर्सदमा देखिन्छ।

संसारकै व्यस्त विमानस्थलहरुमा पर्ने दोहाको अन्तर्राष्ट्रिय विमानस्थल यतिखेर कुनै पनि हतारोमा देखिन्न। ती विश्वका नामुद विमानस्थलजस्तो व्यस्त देखिँदैन अहिले दोहा। कतार एयरवेजले दोहा भएर गल्फमा यात्रा गर्न पाएको छैन भने अरु देशका एयरलाइन्स्हरु फ्लाई दुबई, एमिरेट्स एयरलाइन्स लगायतका कैयौँले पनि दोहाको आकास भएर यात्रा नगरेको दुई हप्ता हुन लाग्यो । 

यस्तो अवस्थामा कतारको आर्थिक बिकासमा नकारामत्मक असर चाँडै देखिन सक्ने अनुमान कतिपय विश्लेषकहरुको रहेको छ। दुबई, अबुधाबी, रियाद र कायरोजस्ता सहरमा हुने उडानमा घटीको ५० प्रतिशत कतार एयरवेजकै हुने गरेकोमा अहिले त्यो अवस्था ठप्पप्राय रहेको छ।

उनीहरुले यसलाई पनि एयर स्पेस नदिने र आफ्ना उडानहरु पनि दोहा भएर नभर्ने नीति पहिले नै सार्वजनिक गरिसकेका थिए । यसको प्रत्यक्ष असर देखिन थालिसकेको छ । 

दुई हप्तामा आफ्ना कूटनीतिक कर्मचारीलाई उनीहरुदे देश छोड्न भनिसकेकोमा अधिकांशले छोडिसकेका र कति अब छोड्ने अन्तिम तयारीमा भएका बताएका छन्।

हवाई, समुद्र र जमिन मार्ग यातायातका लागि प्रयोगमा प्रतिबन्ध लगाएका छन् भने आफ्नो देशतर्फबाट पनि नाकाबन्दी गरेका छन् । संसारका साना देशमध्येको एक तर समृद्ध यस राष्ट्रको खाद्यान्नमा साउदी अरेबियातर्फको निर्भरता बढी नै देखिएको छ। 

कतारमा आपूर्ति हुने खाद्यान्नमध्येमा करिब ४० प्रतिशत साउदी अरेबियातर्फबाट आयात हुने गर्दछ । यो अवस्था हेर्दा लाग्छ उसले अब साउदी अरेबियातर्फको निर्भरता घटाउनुपर्ने देखिन्छ।

कतारको यो संटकलाई सन् १९८१ म भएको गल्फ कोअपरेसन काउन्सिलको गठनपछिको सबैभन्दा ठूलो धक्काका रुपमा विश्लेषकहरु लिन्छन् । 

फरक फरक छन् कतारमाथिका आरोपहरु। साउदी अरेबियाले भन्छ कतारले सिरियाको मुस्लिम ब्रदरहुडलाई सघाएको छ। त्यस्तै सो देशले कतारको लगानीको टेलिभिजन अल जाजिराले आतंककारी मानिएका यमनका हुथी बिद्रोहीलाई सघाउने खालका सामग्रीहरुको प्रचार गर्ने गर्दछ।

उनीहरुसँग यसको कुनै यथेष्ट प्रमाण त छैन तर पनि आतंककारी क्रियाकलापको प्रवर्धन गर्ने गरेको उनीहहरुको भनाई छ । जुनकुरा कतारले ठाडै अस्विकार गरेको छ । 

यो दोषारोपण कतारमाथि सन् २०१४ देखि नै गर्ने गरिएको हो। इरानसँग हात बढाएको, मुस्लिम ब्रदरहुडलाई सहयोग गरेको तथा यमनका हुथी बिद्रोहीसँग मिलेर काम गरेको आरोप उसमाथि छ। यमनमा साउदी अरब नेतृत्वको सेनाको सहयोगमा त्यहाँको संस्थापन पक्षको संस्थापनाका लागि सहयोग गरिरहेको छ।

कतारको आवश्यक सहयोग नै नमिलेको भन्दै यसअघि नै अरबले कतारको सेनालाई फिर्ता गरेको थियो। साउदी अरेबियाको नेतृत्वमा त्यहाँ गल्फका सेनाले काम गरिरहेका छन्। 

सोही कारण पनि त्यस समयमा कतिपय देशले कतारमा रहेका आफ्ना राजदूत फिर्ता नै बोलाएका थिए। त्यस समयदेखि नै कतारले बारम्बार आफ्ना बिरुद्धमा प्रचार भएको भन्दै असहमति पनि राख्दै आएको थियो।

तर यो समयमा त उसको आवाज यति मधुर भएको छ कि उसमाथि कूटनीतिक नाकाबन्दीजस्तो कारबाही नै गरिएको छ । 

यस्तो अवस्थामा कुवेतले यसको मध्यस्थता गर्ने प्रयत्न गरिरहेको छ। त्यहाँका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले कतारका अमिर शेख तामिम बिन हमाद अल थानीसँग मध्यस्थताका लागि पहल गर्ने अनुमति लिएका छन्।

उनले यसतर्फ आफूहरुले गम्भीर र आवश्यक पहल थालेको जानकारी पनि गराएका छन् । तर उनले कोसँग र के कसरी वार्ता अघि बढाएका छन् भन्ने बारेमा भने केही पनि बताएका छैन। 

छिमेकीले कतारसँग कूटनीतिक सम्बन्ध तोडेको आज १३ दिन पुगेछ। तर पनि पछिल्लो अवस्था हेर्दा यो मध्यस्थताको पहलले थोरैमात्र पनि सकारात्मक मार्ग पहिचान गर्न सकेको जस्तो आधार देखा परेको छैन।

कतारले यो भूमरीबाट पार पाउन कतैबाट आशालाग्दा पहलहरु उदाएको देखेको छैन। बरु उसमाथि एकपछि अर्को दोषहरु थपिँदै गएको देखेको छ। त्यसैले यो समस्या समाधानका लागि गल्फकै कुनै राष्ट्र वा बाहिरबाटै पहल हुनुपर्ने अवश्यकता विश्वव्यापी महसुश हुदैछ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell