PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

पत्याएनन् उम्मेदवारका ठूला आश्वासन नेपालगञ्जका मतदाताले 



रासस

पत्याएनन् उम्मेदवारका ठूला आश्वासन नेपालगञ्जका मतदाताले 

नेपालगञ्जः असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका प्रायः सबै उम्मेदवारले पाँच वर्षभित्र नेपालगन्ज सहरको कायापलट गर्ने मतदातालाई आश्वासन दिने गरेका छन्। 

तर, यहाँका मतदाता भने उनीहरुको आश्वासन पत्याउन तयार छैनन्। वर्षाको समयमा हरेक वर्ष डुबानको नियति भोग्न बाध्य यो सहरको कायापलट पाँचभित्र गर्छु भन्नु मत लिने ठाडो झुट बाहेक अरु केही नभएको मतदाताले बताएका छन्।

यहाँका मतदाताहरु भन्छन् –‘उम्मेदवारले गर्न सक्ने, पत्याउन सक्ने कुरा पो गर्नुपर्छ। नेपालगन्जका नागरिक स–साना समस्यावाट आक्रान्त छन्। त्यसको समाधानको कुरा नगरेर एकैपटक ठूला काम गर्छु भन्नु उम्मेदवारले मतदाताको चेतनास्तरलाई कम आकलन गर्नु बाहेक अरु केही नभएको उनीहरुको भनाइ छ।

हुन पनि यहाँका मतदाताले भने जस्तै नेपालगन्ज उपमहानगरपालिकालाई नेपालकै फोहरी नगरपालिका भन्ने गरिएको वर्षौ भयो, त्यसको समाधान हुन सकेको छैन। सहरभित्र स्तरीय बाटोघाटो छैन, पानीको निकास छैन, ढल छैन, छाडा चौपाया नियन्त्रण हुन सकेको छैन, गाँउसँग नगरलाई सडक सञ्जालले जोड्न सकिएको छैन। यो समस्या समाधान गर्छु भनेर उम्मेदवारले मतदातालाई भन्न सके उनीहरुलाई पत्याउने आधार पनि हुने थियो। 

यो सहरका चिडिमार, घसियारा समुदायको दैनिक जीविकोपार्जनको समस्या, बालश्रम मुक्त जिल्ला घोषणा गरिए पनि करिब तीन हजारको हाराहारीमा बालश्रमिक हुनु, टोलटोलमा त टाढाको कुरा सहरभरिमा पाँच वटा मात्र सार्वजनिक शौचालय हुनु, सडक पेटी अतिक्रमण गरी व्यापार, व्यवसाय सञ्चालन गरिनु, ट्राफिक नियमको पालना गराउन नसक्नु यहाँको थप समस्या हो। 

राजनीतिक विश्लेषक डा जनार्दन आचार्यको कथन छ– ‘स्थानीय निर्वाचन भएकाले टोलवासी, नगरवासीको दैनिक समस्या समाधान गर्ने कुरा उम्मेदवारले मतदातासँग गर्नुपर्छ। 

नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले डा सुरेशकुमार कनौडिया, नेकपा एमालेले समसुद्धिन सिद्धिकी, नेकपा माओवादी केन्द्रले दामोदर आचार्य र राप्रपाले डा धवल शम्शेर राणालाई उम्मेदवार बनाएका छन्। 

क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख बसन्तराज अधिकारीका अनुसार, बाँके जिल्लाका कुल दुई लाख ४६ हजार ७८ मतदाताले यो निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउनेछन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell