
काठमाडौंः नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघमा चरम विवाद भएको छ। अध्यक्ष नैनसिंह महरले आफुखुसी केन्द्रीय समितिमा मनोनयन गरेको भन्दै अन्य पदाधिकारीहरुले चर्को विरोध जनाएका छन्।
यसअघि आफ्नो समुहसँग निकट रहेका तीन केन्द्रीय सदस्य पनि एकलौटी मनोनित गरेको आरोप खेप्दै आएका महरले शनिबार आफ्नै प्यानलबाट सहमहामन्त्री उठेर पराजित महेश्वरी कुँवरलाई सोही पदमा मनोनयन गरेपछि नेविसंघको विवाद छताछुल्ल भएको हो।
महामन्त्री कुन्दन काफ्लेले अध्यक्ष महरलाई संगठनको विधि र विधान आफूले सिकाउने अवस्था आएको भन्दै निर्णय नसच्याए परिणाम खराब आउने चेतावनी दिएका छन्।
“नेविसंघको विधि र विधानका बारेमा यसका विद्वान अध्यक्षलाई मैले सम्झाउनु पर्ने दुःखद दिनको कल्पना गरेको थिईन ,”काफ्लेले मनोनयनमा असन्तुष्टि जनाउँदै भने,“ स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन म लगायतका थुप्रै साथी देश दौडाहामा रहँदा अध्यक्ष राजधानीमा बसेर विधि र विधान विपरित एकल निर्णयका भरमा संघको पदाधिकारी र केन्द्रीय सदस्य मनोनित गर्न तल्लिन रहेको सामाजिक सञ्जालबाट थाहा पाउनु परेको छ। विधान विपरित गरिएका मनोनयनको निर्णय तत्काल फिर्ता नलिए संगठन सीमित स्वार्थ समूहको चंगुलबाट जोगाउन कठोर निर्णय लिन बाध्य हुनेछु।”