PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

आज बिहान ८ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता, परासीमा गोली चलेको घटनाले तनाव



उमेश श्रेष्ठ

आज बिहान ८ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता, परासीमा गोली चलेको घटनाले तनाव
परासी घटनामा घाइते। फोटो : उपेन्द्र महतो

भद्रपुर : दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत आइतबार बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता गर्ने समय निर्वाचन आयोगले तोकेको छ।

असार २ गते नै हुनुपर्ने उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम राष्ट्रिय जनता पार्टीसितको वार्तापछि सरकारको अनुरोधमा निर्वाचन आयोगले आजसम्मका लागि सारेको थियो। 

राजपा सहभागी हुने आशाले कार्यक्रम सारिएको भए पनि अघिल्लो दिन राजपाले नवलपरासीमा आयोजना गरेको सभामा प्रहरी र कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएपछि मधेसमा तनावको स्थिति निम्तिएको छ।  

राजपाले आज मधेस र थरुहट क्षेत्रमा बन्दको घोषणा पनि गरेको छ। 

शनिबार सभालाई राजपाका संयोजक महन्थ ठाकुरले सम्बोधन गर्दै गर्दा प्रहरी र राजपा कार्यकर्ताबीच झडप भएको थियो। 

झडपका क्रममा प्रहरीले केही राउन्ड रबर गोली र दर्जनौँ अश्रुग्यास प्रहार गरेको थियो। प्रहरीले चलाएको रबरको गोली लागि राजपाका कार्यकर्ता जमुनियाका ५० वर्षीय नर्सिह चौधरी, गेरमीका २७ वर्षीय सुरेश गुप्ता र नर्सहीका ४० वर्षीय भगवन्त गुप्ता र नवलपरासी क्षेत्र नं– ६ का रामेश्वर कुशवाह घाइते भएका छन्।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ।

राजपाका वरिष्ठ उपाध्यक्ष वृशेषचन्द्र लालद्वारा जारी विज्ञप्तिमा विद्यार्थी रामेश्वर कुशवाहाको निधारमुनि मुखमा गोली लागेको उल्लेख छ। 

सभा चल्दै गर्दा सभा नजिकै रहेको मध्यनेपाल यातायात व्यवसायी समितिको काउन्टरमा राखिएको नेकपा (एमाले)को टिसर्टको पोकोलाई राजपाका कार्यकर्ताले जलाउने क्रममा प्रहरी र कार्यकर्ताबीच झडप भएको थियो । 
 

राजपा नेता उपेन्द्र महतोका अनुसार नेपालगंजमा प्रहरीले १३ जना नेता कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा केन्द्रीय सदस्य रामकुमार दीक्षित, जिल्ला अध्यक्ष मण्डलका अध्यक्षहरु केशवराम बर्मा, लक्ष्मीनारायण बर्मा, फूलचन्द्र तिवारी, जिल्ला सचिवहरु महमुद आलम सिद्दिकी, सुरेशकुमार बर्मा र जिल्ला सदस्यहरु राजेन्द्र गुप्ता, मेराज अन्सारी, मोहम्मदरसुल शाह, मनोज बर्मा, किताकल निशा दर्जी, रामगोपाल बर्मा छन्।

त्यसैगरी सुनसरीमा ११ आन्दोलनकारी, मोरङमा १२ आन्दोलनकारी र बर्दियामा केशव यादव, सुरेश शुक्ला लगायत प्रहरी नियन्त्रणमा रहेको राजपाले जनाएको छ। 

आजै साँझ ६ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यक्रम छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell