
काठमाडौँ: दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत आज ३३४ स्थानीय तहमा उम्मेदवारको मनोनयन भइरहेको छ। ३५ (टुक्र्याइएका एकै जिल्ला दुई कायम रहेका समेत) जिल्लाका ३३४ स्थानीय तहमा आइतबार बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म मनोनयन हुनेछ।
मनोनयन मुख्य निर्वाचन अधिकृतको कार्यालय, तथा सम्वन्धित नगर तथा गाउँपालिका केन्द्रमा दर्ता हुनेछ। आइतबार साँझ नै उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित हुनेछ। सोमबारदेखि दाबी–विरोध तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशनको अन्य काम हुनेछ।
असार २ गते नै मनोनयन तोकिएको भए पनि राष्ट्रिय जनता पार्टीसँगको सहमतिका लागि भन्दै दुई दिन सारिएको थियो। मनोनयन र प्रदेश २ को निर्वाचन कार्यक्रम नै असोज २ सम्म सारिए पनि रापजाको सहभागिता अझै निश्चित छैन।
स्थानीय तहमा तीन चरणमा तय भएको निर्वाचनमा आइतबार प्रदेश १, ५ र ७ मा मनोनयन हुन लागेको हो। निर्वाचन आयोगले असार १४ गतेको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
दोस्रो चरणमा एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदैछ। निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाता सहभागी हुँदैछन्।
त्यस्तै, निर्वाचनका लागि चार हजार ५८१ मतदानस्थल र आठ हजार ३ सय ६४ मतदान केन्द्र तोकिएका छन्। निर्वाचनमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले जनाएको छ।