लण्डनः बेलायतकी महारानी एलिजाबेथले लण्डन र म्यानचेष्टरमा भएका आक्रमण र लगत्तै लण्डनको ग्रीनफेल टावरमा भएको आगलागी पछिल्ला दुखान्त घटनाहरुका कारण राष्ट्रव्यापी रुपमा उदासिनता देखिएको र यसबाट भाग्न मुश्किल भएको बताएकी छन्।
शनिबार महारानीले राज्यद्वारा परम्परागत मनाइदै आएको जन्मोत्सवका अवसरमा दिएको सन्देशमा महारानीले पछिल्ला हप्ताहरुमा बेलायतले एकपछि अर्को दुखद् घटनालाई बेहोर्नुपरेको बताएकी छन्।
सन्देशमा भनिएको छ,‘परम्परागत रूपमा आज खुसी मनाउने दिन हो तर केही महिना यता भएका दुखान्त घटनाहरुका कारण राष्ट्रव्यापीरुपमा पीडाको अनुभुति भएको छ यसका कारण सवैमा उदासिनता छाएको र यसबाट भाग्न मुश्किल भएको छ।’
कम्तिमा ३० जनाको ज्यान जाने गरी भएको ग्रीनफेल टावर आगलागीविरुद्धको विरोध प्रदर्शनपछि आएको महारानीको सन्देशमा भनिएको छ, “परीक्षणको बेला छ, कठीन परिस्थितिमा अधिराज्य अटल रहेको छ।”
महारानी र राजकुमार विलियम्सले शुक्रबार स्वयंसेवकहरु, बासिन्दा र समुदायका प्रतिनिधिहरुसँग भेटेका थिए।
सन्देशमा महारानीले म्यानचेष्टर र लण्डनका पछिल्ला भ्रमणक्रममा आवश्यक परेकाहरुलाई तत्काल सहयोग पुर्याउने मानिसहरुको तत्परताबाट आफू प्रभावित भएको बताएकी छन्।
बेलायतमा महारानीको जन्मदिन दुईपटक मनाउने प्रचलन छ। महारानीको वास्तविक जन्मदिन अप्रिलमा भएपनि जन्मदिनलाई भब्य वनाउन राम्रो मौसमका लागि गृष्मकालिन (जुन १७) लाई भब्य समारोहकावीच मनाउने परम्परा छ। रासस/ सिन्ह्वा