धनगढीः सडकमा टायर बालेर उम्मेदवार मनोनयनमा अवरोध पुर्याएको भन्दै प्रहरीले कैलालीको धनगढीमा राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य फोनीराम चौधरी र सुनिता चौधरीलाई पक्राउ गरेको छ।
उनीहरुलाई कैलालीको हसुलिया क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। जिल्लाका सबै स्थानीय तहमा भने शान्तिपूर्ण वातावरणमा उम्मेदवारी मनोनयन दर्ताको काम भइरहेको प्रजिअ रिजालले बताए।
दलका उम्मेदवारका साथै स्वतन्त्र उम्मेदवारले छुट्टाछुट्टै बाजागाजा, झाँकी, नाचगानसहितका जुलुस गर्दै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आआफ्नो उम्मेदवारी मनोनयन गरिरहेका छन्।
जिल्लामा एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिका छन्। कैलालीमा चार लाख तीन हजार २८० मतदाता छन्।रासस