
काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चीनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ।
आइतबार बिहान प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा उनीहरुबीच समसामयिक परिस्थिति र नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको थियो।
भेटमा राजदूत होङले प्रचण्डको १० महिने प्रधानमन्त्रीकाल अत्यन्तै सफल र वैदेशिक मामिलामा सन्तुलित भएको विचार व्यक्त गर्दै १० महिनाको छोटो अवधिमा वैदेशिक सम्बन्ध र आर्थिक विकासका क्षेत्रमा नेपालले हासिल गरेको सफलताप्रति खुसी व्यक्त गरेकी प्रचण्डको निजी सचिवालयले जनाएको छ।
भेटमा अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्रीमा निर्वाचित भएदेखि नै दुई छिमेकी बीचको सम्बन्धलाई हार्दिक र सन्तुलित बनाउन लागिपरेको र राजीनामा दिने बेलासम्म आफ्नो योजना सफल भएको बताएका थिए।
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै चीन र भारतमा विशेष दूत पठाएर सम्बन्धमा थप सुदृढीकरण गरिएको बताउँदै अध्यक्ष प्रचण्डले आफ्नो १० महिने प्रधानमन्त्रीकाल नेपाली राजनीतिमा स्मरणयोग्य रहने विश्वास व्यक्त गरे।