चितवनः पहिरो खसेर गए राति १ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाइएपछि बिहान साढे ११ बजेदेखि पुनःसञ्चालनमा आएको छ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ कालीखोलामा भित्तो काटिएको ठाउँमा पहिरो खसेको थियो।
गएराति ९ बजे पनि सोही ठाउँमा पहिरो खसेकामा पन्छाएर सडक पुनःसञ्चालन गरिएको थियो। सुरुमा सानो पहिरो भएपनि राति फेरि ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो ।
पहिरो पन्छाउनका लागि एक एक्साभेटर, दुई लोडर र तीन वटा टिपर प्रयोग गरिएको थियो। पहिरो पन्छाइएसँगै रातिदेखि सवारी जाममा बसेका गाडी आआफ्नो गन्तव्यतर्फ लागेका छन्। अहिले सडकखण्ड विस्तारको काम भइरहेको छ ।
भित्तो काटेर सडक फराकिलो बनाइएकाले समय समयमा पहिरो खसेर दुःख दिने गरेको छ। हाल ठूलो पानी नपरेपनि दुई चार दिनयता परेको पानीका कारण पहिरो खसेको हुनसक्ने अनुमान छ। रासस