
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता र मुलुकको स्वाभिमानमा आँच पुर्याउने कुनै पनि कुरामा सौदाबाजी गर्न नसकिने बताएका छन्।
एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय एकता, मुलुकको हित र स्वाभिमानलाई लाभसँग सौदाबाजी गर्न नसकिने बताए।
उनले मधेसमा एमाले विरोधीहरु नभएको बताए। ओलीले भने,“तराई मधेसमा एमालेकाविरुद्ध अब आरोप लाग्न सक्दैन, हामीविरुद्ध भ्रम छर्ने काम भएको छ, त्यो भ्रमलाई चिर्न जरुरी छ ।”
अध्यक्ष ओलीले सरकारको ध्यान संविधान कार्यान्वयन नभई विपरीत कुरामा गएको आरोप लगाउँदै संविधान औचित्यका आधारमा संशोधन गर्न सकिने तर बलजफ्ती देशलाई अहित पार्ने गरी प्रस्ताव आएमा एमालेलाई मान्य नहुने बताए।
कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय जनता पार्टीका कोषाध्यक्ष अनिता यादव एमालेमा स्वागत गरेका थिए।रासस