
पोर्चुगलः मध्यपोर्चुगलको एक जङ्गलमा भएको आगलागीमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
आगलागीमा परी अग्नीनियन्त्रकसमेत घाइते भएका छन्। लिस्बोनबाट करिब १५० किलोमिटर उत्तरपूर्वमा रहेको लैरीया जिल्लाको पेद्रोगाओ ग्रान्दे क्षेत्रबाट आगलागी सुरु भएको थियो।
आगलागी नियन्त्रणका लागि करिब छ सय अग्नीनियन्त्रक र ४७० भन्दाबढी सवारी साधन परिचालन गरिएको थियो ।
घटानापछि प्रधानमन्त्री इन्टोनिओ कास्टोले आफूहरुले त्रासदी र वियोगको सामना गरिरहेको बताएका छन्।
आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीका अनुसार पेद्रोगाओ ग्रान्दे जिल्लाको वनमा फसेका १६ जनाको मृत्यु भएको थियो भने तीनजनाको भने धुवाँले निस्सासिएर मृत्यु भएको थियो।
पेद्रोगाओ नगरमा मेयरले आगलागी नियन्त्रणका लागि पर्याप्त अग्नीनियन्त्रक नभएका र आगलागीको कारण अहिलेसम्म प्रष्ट हुन नसकेको जानकारी दिएका छन्।
घाइते मध्ये कैयौँको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ। रासस/सिन्ह्वा