
नयाँदिल्ली: गृहमन्त्री राजनाथ सिंहले दार्जिलिङमा छुट्टै राज्यको माग गरी प्रदर्शनमा रहेका गोर्खा जनमुक्ति मोर्चा (जीजेएम्)का कार्यकर्ता तथा दार्जलिङबासीलाई आइतवार आफ्ना माग सम्वोधन गराउन हिंसाको बाटो नअपनाई वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्न आग्रह गरेका छन्।
गृहमन्त्री सिंहले हिंसाको बाटोबाट कहिल्लै पनि समस्याको समाधान खोज्न नसकिने भएकाले समग्र दार्जलिङबासीलाई शान्त एवम् धैर्य रहन आग्रह गरे ।
उनले भने,“सवै सम्वद्ध पक्षले आफ्ना मतभिन्नता र गलत बुझाईलाई जिम्मेवार बनी वार्ताका माध्यमबाट सौहाद्र वातावरणमा समाधान गर्न सकिन्छ।”
भारतजस्तो प्रजातान्त्रिक मुलुकमा हिंसाले समस्याको समाधान खोज्न असम्भव हुने बताउँदै सिंहले हरेक बिषयको आपसी समझदारीबाट समाधान निकाल्न सकिनेमा जोड दिएका छन्। “म दार्जिलिङ र वरपरका क्षेत्रमा बसोबास गर्ने जनतालाई शान्त र जिम्मेवार बन्न अपिल गर्छु,” गृहमन्त्री सिंहले एकपछि अर्को गरी जारी ट्वीट सन्देशमा लेखेका छन्।
सिंहले पश्चिम बङ्गालका मुख्यमन्त्री ममता वनर्जीसँग पनि आइतबार नै कुराकानी गरी दार्जिलिङमा देखिएको अवस्थाका बारेमा थप जानकारी लिएका छन्।
सिंहले शनिबार पनि मुख्यमन्त्री बनर्जीसँग कुराकानी गरी शान्ति स्थापना गर्न यथासम्भव कदम चाल्न आग्रह गरेका थिए। प्राकृतिक सुन्दरता रहेको दार्जलिङका विद्यालयमा बङ्गाली भाषालाई अनिवार्य वनाउने निर्णयले विगत केही दिन यता दार्जिलिङबासी व्यापक विरोधमा उत्रिएका हुन्।
अर्ध–स्वायत्त गोर्खाल्याण्ड प्रदेश प्रशासनमा पकड रहेको जीजेएमले गोर्खाल्याण्डलाई छुट्टै राज्य बनाउन माग गर्दै विरोधको नेतृत्व लिइरहेको छ।
आइतबार हजारौं दार्जिलिङबासीले प्रहरी भीडन्तमा मारिएका जीजेएमका कार्यकर्ताको मृत शरीर लिएर स्थानीय चोक तथा बजारमा उत्रिएपछि प्राकृतिक सुन्दरताले सिँगारिएको उक्त शहर थप तनावग्रस्त बनेको बताइएको छ।
शनिबार प्रहरी र जीजेएमका कार्यकर्तावीच व्यापक क्षेत्रमा झडपका घटना भएपछि सम्भावित दुर्घटनाबाट जोगाउन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।
जीजेएमले दार्जलिङको सिङमरी क्षेत्रमा भएको प्रदर्शनका क्रममा शनिबार आफ्ना दुई समर्थकलाई प्रहरीले गोली हानी मारेको दावी गरेको छ।
प्रहरीले आफ्नो तर्फबाट गोली चलेको भन्ने भनाईको खण्डन गरेको छ र भनेको छ झडपका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको छ।
दार्जलिङमा जुन ८ देखि शुरुभएको आन्दोलनका क्रममा शनिबार पहिलो एक जनाको मृत्यु भएको छ । दार्जलिङमा विगत केही बर्षयता यस्तो खालको विरोध देखिएको थिएन।रासस/पीटीआइ