
गोरखाः ‘गोरखा भूकम्प’ ले क्षति पुर्याएका गोरखाका विभिन्न १२ वटा स्वास्थ्य चौकी भवन पुनःनिर्माण गर्ने अनुमति लिएको युनिसेफले जिम्मेवारी लिएअनुसार तोकिएको समयभित्र स्वास्थ्य चौकी भवन पुनःनिर्माण गर्न आलटाल गरेको छ। युनिसेफले दर्बुङ स्वास्थ्य चौकी भवन मात्रै पुनर्निर्माण गरेको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गुम्दाको माछाखोला, गुम्दा गाउँ, बारपाक, लाप्राक, छोप्राक, आरुपोखरी, फुजेल, गोरखा नगरपालिकाअन्तर्गत तारानगर, बक्राङ, देउराली र नाम्जुङ स्वास्थ्य चौकी पुनर्निर्माण गर्ने जिम्मा लिएको युनिसेफले भूकम्प गएको डेढवर्ष भइसक्दा पनि ती भवन पुनःनिर्माणमा चासो दिएको छैन।
स्वास्थ्य चौकी पुनःनिर्माण नहुँदा त्रिपाल, टेन्टबाटै बिरामीलाई सेवा दिनुपरेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन्। गतवर्ष मङ्सिरमा निर्माण सामग्री थुपारे पनि अहिलेसम्म स्वास्थ्य चौकी भवन पुनर्निर्माण सुरु नभएको नाम्जुङ स्वास्थ्य चौकी प्रमुख लीला गुरुङले जानकारी दिइन्।
जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले युनिसेफलाई पटक–पटक पत्राचार गरी भवन निर्माण सक्न निर्देशन दिएको जनाएको छ।
भवन निर्माण नगरी अलपत्र छाडेकोबारे प्रतिक्रिया लिन खोज्दा युनिसेफका कर्मचारीले आफूहरुले सूचना दिन नमिल्ने भन्दै पन्छिने गरेका छन् ।
भूकम्पले गोरखाका ५२ वटा स्वास्थ्य चौकी क्षति पुर्याएको थियो। ती मध्ये पाँच वटा असल छिमेकी नेपाल पोखराले पुनर्निर्माण गरिसकेको छ । केयर नेपाल, आइएमसीलगायत विभिन्न सङ्घ संस्थाले पनि स्वास्थ्य चौकी भवन निर्माण गरिदिएका छन्। रासस