PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

सन् २०१६ को अन्त्यसम्म शरणार्थीको संख्या ६ करोड ५६ लाख पुग्ने



रासस

सन् २०१६ को अन्त्यसम्म शरणार्थीको संख्या ६ करोड ५६ लाख पुग्ने
फोटो श्रोतः acted.org

जेनेभाः विश्वमा आन्तरिक तथा बाह्य रुपमा विस्थापित हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो रुपमा रहेको छ। 

सन् २०१६ को अन्त्यसम्मको तथ्याङ्क हेर्दा विश्वका विभिन्न देशबाट आन्तरिक तथा बाह्य रुपमा विस्थापित भएर शरणार्थी बन्नेको सङ्ख्या ६ करोड ५६ लाख पुगेको छ। 

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगले विस्थापित हुनेको सङ्ख्या बढ्दै जानुलाई खतराको सङ्केतका रुपमा लिएको छ। 

सोमबार संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१६ मा देखिएको यो उच्च सङ्ख्यालाई अहिलेसम्मकै सबैभन्दा धेरै भनिएको छ । 

युएनएचसिआर प्रमुख फिलिप ग्रान्डीले भने– हामीले यस विषयमा तथ्याङ्क राख्न सुरु गरेदेखि नै सबैभन्दा धेरै विस्थापित भएको यो नै पहिलो पटक हो। 

तथ्याङ्कअनुसार सन् २०१६ मा मात्र विश्वका एक करोड मानिस विभिन्न कारणले आफ्नो घर छोड्न बाध्य भएका थिए। एकै बर्षमा यतिधेरै व्यक्तिले घर छोड्नुपरेको पनि यो पहिलो पटक हो । 

यी मध्ये गतवर्षमात्र विश्वका विभिन्न देशबाट गरी ३४ लाख मानिसले घर छोडेर बाहिरिएका अर्थात् अन्तर्राष्ट्रिय सीमाना काटेका थिए । शरणार्थीका रुपमा आफ्नो देशको सीमाना नै पार गरेर बाहिरिएको पनि यो अहिलेसम्मकै ठूलो सङ्ख्या हो। 

यसरी बाहिरिनेमा इराक, सिरिया, दक्षिण सुडान र अफगानिस्तानका नागरिक धेरै छन् । उनीहरुले देश नै छोडेर अन्तर्राष्ट्रिय सीमा कटेका छन् । उनीहरु विभिन्न देशमा शरणार्थीको रुपमा बसिरहेका छन् । 

गत वर्षमात्र करिब २२ करोड २५ लाख मानिस शरणार्थीका रुपमा दर्ता भएका थिए । उनीहरु अहिले पनि शरणार्थीको रुपमा जीवन व्यतित गरिरहेका छन् । 

यसरी विस्थापित हुनुमा विशेषगरी सिरिया र दक्षिण सुडानमा बढ्दो मात्रामा रहेको हिंसा र आतङ्कलाई प्रमुख कारणका रुपमा लिइएको छ । रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell