PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

बिलखबन्द राजपा:  पार्टी आन्दोलनमा, कार्यकर्ता चुनावमा



रमेश वाग्ले

बिलखबन्द राजपा:  पार्टी आन्दोलनमा, कार्यकर्ता चुनावमा

काठमाडौं : दोस्रो चरणको स्थानीय चुनाव हुँदैगर्दा सबैभन्दा बढी प्रेसरमा कोही छ भने त्यो राष्ट्रिय जनता पार्टी हो। अरु पार्टीलाई पनि चुनावी तनाव नभएको होइन। कार्यकर्ता व्यवस्थापन गर्नु, पार्टीको छवी सुधार्नु, जनतासँग पहुँच बलियो बनाउनु र चुनाव जित्नु प्रतिस्पर्धामा रहेका सबैको चुनौती हुन्। तर, यीभन्दा फरक दवाव झेलिरहेको छ राजपा। 

राजपा आन्दोलनमा छ तर स्थानीय नेता चुनावमा होमिएका छन्। आन्दोलन छोडौं एजेण्डा सकिने चिन्ताले उसलाई गाँजेको छ, चुनाव छोडौं जनतासँगको पहुँच नै टुट्ने चिन्ता पनि। यसर्थ बिलखबन्धमा छ राजपा। 

राजपाले समर्थन गरेको सरकारले स्थानीय तहको दोस्रो चरणको चुनाव गराउँदैछ। तर, राजपा चुनाव असफल बनाउन बन्दसमेतको कार्यसूची हातमा लिएर बसेको छ। आखिर किन पर्यो यस्तो बाध्यता? 

सुरु भइसकेको आन्दोलन कुनै सहमतिमा नपुग्दासम्म नरोकिने बताउँछन् राजपा अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारी। 

'यो सरकारलाई हामीले सहमतिसहित समर्थन गरेका हौं, हाम्रा एजेण्डा स्थापित भएका छैनन्। अनि हाम्रा माग पूरा गर्ने सहमति पनि यो सरकारले गरेको छैन,' भण्डारीले पहिलोपोस्टसँग भने, 'त्यसैले स्वभाविक रुपमा यो आन्दोलन बाँकी छ। बाँकी रहेको आन्दोलन कुनै समय कुन रुपमा त कुनै समय कुन रुपमा रही रहन्छ।'

भण्डारीका अनुसार आन्दोलन जारी छ तराई मधेशमा। तर, अप्ठ्यारोमा छ राजपा। दुई नम्बर प्रदेशमा सरकारले नै चुनावको मिति सारिदिएकाले आन्दोलनको मैदान राजपाका लागि खुला छ। तर, एक, पाँच र सात नम्बर प्रदेशमा हुँदै गरेको चुनाव र उसको बहिस्कार निर्णयले आफै अफ्ठेरोमा परेको छ। निर्णय आन्दोलनकै गरे पनि जनतासँग नटाढिने र कार्यकर्ता जोगाउने रणनीतिमा जुट्नु वाध्यता बनेको छ पार्टीका लागि। 

'२०४२ सालमा चुनावमा भाग लिने र नलिने बहसमा वीपीले भन्नुभएको थियो - चुनावबाट टाढिनु भनेको जनतासँग टाढिनु हो। त्यसैले जनतासँग पहुँच भएकाहरुले चुनाव लड्छ भने स्वतन्त्र रुपमा लड्न दिनुपर्छ,' राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले भने, 'त्यसैले हामीले पनि पार्टीगत रुपमा चुनावमा भाग लिएका छैनौँ लिँदैनौं, तर कोही आफू जित्छु भनेर स्वतन्त्र रुपमा चुनावमा भाग लिन्छ भने त्यसलाई रोक्न हामी जाँदैनौं।'

धर्म संकटको बीउ

चुनावविरुद्ध आन्दोलनको अभियान एकातिर जारी छ। अर्कातिर स्वतन्त्र हैसियतले पार्टीका स्थानीय तहका नेता कार्यकर्ता चुनावी माहोलमा जुटिसकेका छन्। जित्नुपर्ने दवावमा छन् उनीहरु स्वतन्त्र हैसियतमा। त्यसैले राजपा धर्म संकटमा जेलिएको छ। चुनाव भाड्न लागौं आफ्नै कार्यकर्ता स्वतन्त्र उम्मेदवार बनेर उठेको छ। नभाडौं पार्टीको एकसुत्रीय नीति भाड्नुपर्ने नै छ।

राजपालाई कार्यकर्ता रोक्न पनि अप्ठेरो छ। किन भने पार्टीले स्वतन्त्र उठ्न समेत रोक्यो भने कार्यकर्ता अर्को पार्टी छिर्ने सम्भावना ह्वात्तै बढ्छ। नेकपा एमालेले रणनीतिक रुपमा राजपाका नेता-कार्यकर्तामाथि जाल थापेर बसेको छ – आउनसाथ ससम्मान पार्टीभित्र प्रवेश गराउन। अरु दल पनि पाएदेखि कार्यकर्ता थप्न किन छाड्थे?

चुनाव हुँदै गरेको ५ नम्बर प्रदेशको रुपन्देहीमा रहेका शुक्ल अब हुने आन्दोलनबाट ज्यादा क्षति हुन सक्ने कुराप्रति सचेत छन्। 
'जनस्तरबाट आन्दोलन नभएको होइन। जनता आन्दोलित पनि नभएका होइनन् तर सरकारले चुनाव सार्दैन। त्यस्तो अवस्थामा मानवीय क्षति हुने खतरा ज्यादा छ,' शुक्लले भने, 'त्यसैले आन्दोलनको स्वरुप बदल्नुपरेको छ, आन्दोलन चुनावपछि पनि कायम रहने गरी अघि बढ्नुको विकल्प रहेन अब।'

हुन पनि राजपाले तराई मधेशमा जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउन माग गरेको थियो। त्यो माग रोकेर निर्णय नलिँदासम्म चुनाव हुन नदिने राजपाको तयारी अनुसार चुनाव सार्ने माग उसले अघि सारेको थियो। तर, त्यो सम्भावना टरिसकेको छ। 
'कांग्रेसप्रति यहाँ आक्रोश त देखिएको छ,' शुक्लले भने, 'किन भने कांग्रेसका २ नम्बर प्रदेशका सांसदले चुनाव सार्न भने तर यताकाले भनेनन् र चुनाव पनि सरेन।'  

त्यही कारण कांग्रेसप्रति आक्रोश राखेर चुनावमा उत्रिएका छन् राजपाका स्थानीय नेता।

के हुन्छ त अब?

सरकारले पाँच नम्बर प्रदेशमा पनि चुनाव सारेको भए अर्को चरणको चुनावसम्म सबै कुरा सुल्टाउन र द्वन्द्व व्यवस्थापन गर्न सहज हुने बताउँछन् राजपा नेताहरु। 'सरकारले दुईवटा प्रदेशको चुनाव सारेको भए समस्या समाधानका लागि समय हुन्थ्यो र समस्या समाधान पनि हुन सक्थ्यो,' अध्यक्ष मण्डलका नेता भण्डारीले भने, 'समयकै कारण व्यवस्थापन हुन नसकेका विषय समेत सम्बोधन भएन। अब २ नम्बर प्रदेशको चुनाव अघि के के हुनसक्छ हेरौं।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell