डडेल्धुराः स्थानीय तहको निर्वाचनको रौनक बढिरहेका बेला डडेल्धुरा–बैतडीको सिमानास्थित अनारखोलीका मतदाता भने यस अघिका निर्वाचनमा पटक पटक दलीय नेतृत्वबाट सडक निर्माणको झुटो आश्वासन मात्र पाएको भन्दै रुष्ट बनेका छन्।
अजयमेरु गाउँपालिका–१ समैजीका मतदाताले निर्वाचनका बेलामात्रै आश्वासनको बाढी नै आउने गरेको तर विकास निर्माणका काममा भने चासो नदिएको गुनासो गरे। खोड्पे दशरथ चन्दमार्ग छेउमै रहेको अनारखोली बजारमा दिनहुँ चुनावी चर्चा चल्छ।
विसं २०५४ सालको निर्वाचनमा नेपाली काँग्रेसलाई बिजयी गराएको उक्त क्षेत्रका मतदाताले गाउँमा विकास निर्माणका कुरा त परै जाओस् राज्यको उपस्थितिसम्म न्यून रहेकामा राजनीतिक नेतृत्व प्रति आक्रोशित बनेका छन् ।
“हाम्रो वडामा राज्यको उपस्थिति भनेको एउटा प्रहरी चौकी मात्रै हो ।” समैजीका तर्फराज भट्टले भने– “विसं २०५५ मा सडक खोलिए पनि हालसम्म स्तरोन्नतिसमेत हुन सकेको छैन ।”
गाउँमा बिरामी पर्दासमेत सात÷आठ घन्टा पैदल हिँडेर डडेल्धुरा सदरमुकाम पुग्नुपर्ने बाध्यता छ भन्दै भट्टले निर्वाचनमा मत माग्न आउने उम्मेदवारलाई सडक निर्माणदेखि स्वास्थ्य चौकी स्थापनासम्मका लिखित सम्झौता गराएरमात्रै मतदानमा जाने बताए।
त्यसैगरी, दुर्गम मानिएका यहाँको समैजी, माली, मदुरडालगायतका गाउँबाट जनप्रतिनिधि भएर जानेहरुले विकास निर्माणका लागि कुनै फलदायी कदम नचालेको आरोपसमेत उनले लगाए।
“शेरबहादुर देउवाजीले चुनावका बेला खानेपानी दिन्छु भनेलगत्तै पानीको व्यवस्था जोलेना खानेपानी आयोजना तयार गरियो ।” स्थानीयवासी दीपक भट्टले भने– “गत संविधानसभाको निर्वाचनमा आउने नेताहरुले भने आश्वासनमात्रै दिएर गए । सडक स्तरोन्नतिका लागि काठमाडौँसम्म पुगेर दबाब दिँदा पनि कुनै पहल भएन । ”
“माध्यमिक तहपछि गाउँमा उच्च माध्यमिक विद्यालय छैन।” समैजीका धर्मानन्द भट्टले भने, “टाढा भएकाले छात्रालाई उच्च शिक्षाका लागि डडेल्धुरा जान समस्या छ । दैनिक ३० किलोमिटर हिँडेर पोखरा र सदरमुकाम जान नसकिने हुँदा गाउँमा उच्च शिक्षाका लागि पनि पहल गर्ने उम्मेदवारलाई मतदान गर्छौं ।”
डडेल्धुरा सदरमुकाम बाजबजारलगायत पहाडी जिल्लाका सडक मार्ग र सदरमुकाममा चुनावी रौनकमै अल्झिए पनि ग्रामीण भेगका मतदाता भने निर्वाचनसँगै गाउँमा विकासको लहर आउनेमा अझै आशावादी छन्।
“निर्वाचनका बेला आश्वासनमात्रै दिनेप्रति सचेत छौँ ।” स्थानीय धर्मानन्द भट्टले भने– “सक्षम र इमान्दार उम्मेदवारलाई जिताउँछौ ।” एक हजार ४९५ मतदाता रहेको अजयमेरु गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट दत्तीसिंह भण्डारी, नेकपा एमालेबाट जितराज भट्ट, नेकपा माओवादी केन्द्रबाट वीरेन्द्रसिंह भण्डारी र राष्ट्रिय जनमोर्चाबाट कलावती भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्।
त्यसैगरी, डोटीको बडुर बजारमा खानेपानी नै प्रमुख समस्याका रुपमा रहेकाले पानी खुवाउन प्रतिबद्ध हुने उम्मेदवारलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने सोचाइमा छन् ।
“वविगतमा गाउँमा आएका योजनामा पनि कमिसन खाएर योजना अलपत्र परेका धेरै घटना देखिए ।” बडुरवासी गणेशबहादुर विष्टले भने– “यहाँको समस्या भनेको खानेपानी र बजार व्यवस्थापनको हो।”
जोरायल गाउँपालिका–२, जोगबुढा चोकमा लामो समयदेखि खानेपानीको समस्या रहेकाले घरदैलोमा आउने विभिन्न दलका उम्मेदवार समक्ष यही समस्या तेस्र्याउने गरेको उनले बताए । बजारको जनसङ्ख्या बढेसँगै खानेपानीको समस्या झन विकराल बन्दैछ।
सडकमार्गको छेउमा रहेको बजार पनि अव्यवस्थित हुनुकासाथै करिव एकघण्टा पर धारापानी भन्ने ठाउँबाट पानी बोकेर ल्याएर प्यास मेटाउनुपर्ने अवस्था छ ।
“पार्टी जुनसुकै भए पनि बडुरको मुहार फेर्ने योजनासहित आउने उम्मेदवारलाई मतदान गर्छौं ।” विष्टले भने– “यहाँबाट निर्वाचित भएर जाने सांसदले पनि विकास निर्माणदेखि यहाँको जनभावनाको सम्मान गरेनन् ।”
जोरायल गाउँपालिकामा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । सो गाउँपालिकामा कांग्रेसबाट दिपक विष्ट, एमालेबाट दुर्गा ओझा र छवि ओली माओवादी केन्द्रबाट मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।रासस