
काठमाडौंः एसियाली पूर्वाधार लगानी बैंकले नेपालका विभिन्न छवटा परियोजनामा ठूलो मात्रामा लगानी गर्ने भएको छ ।
दक्षिण कोरियाको जेजुमा असार २ देखि ४ गतेसम्म आयोजना भएको एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा सहभागी हुन गएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा बैंकले काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीको सुधार परियोजनामा उल्लेख्य रुपमा लगानी गर्ने प्रतिबद्धता जनाएको हो।
कार्यक्रममा भाग लिएर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री कार्कीले नेपालमा लगानीका लागि बैंक इच्छुक देखिएको जानकारी दिए।
परियोजनामा १० अर्ब लगानी गर्ने बैंकले जनाएको छ। २० वर्षदेखि काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली सुधार हुन नसकेको, प्राविधिक चुहावट बढेको तथा थप विस्तार तथा विकासका लागिसमेत समस्या भएपछि सरकारले सुधारको कार्ययोजना अगाडि बढाएको थियो ।
अर्थमन्त्री कार्कीले सो परियोजनामा बैंकले केही समयभित्रै रकम उपलब्ध गराउने वचन दिएको जानकारी दिए। काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीमा सुधार गर्ने परियोजनाका विषयमा लामो समयदेखि छलफल भएपनि प्रक्रिया अगाडि बढ्न नसकेको सन्दर्भमा एसियाली पूर्वाधार लगानी बैंकका अलावा एसियाली विकास बैंकले लगानी गर्ने भएका हुन्।
यस्तै तराई मधेसको बस्ती विकास तथा व्यवस्थित सहरीकरण परियोजनामा समेत बैंकले २८ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री कार्कीले जानकारी दिए।
तराई मधेसका २२ जिल्लामा सो कार्यक्रम लागू भएपनि पूर्वाधार बैंकले पहिलो चरणमा सात जिल्लामा लगानी गर्नेछ। परियोजनामा बैंकले २८ अर्ब लगानी गर्दैछ।
चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले सो परियोजनामा ५० करोडका दरले लगानी गर्ने कार्यक्रम राखेको छ।
अर्थमन्त्री कार्कीकाअनुसार काठमाडौँ सामाखुसीदेखि नुवाकोटको छहरेसम्मको सुरुङ मार्गमा समेत पूर्वाधार बैंकले लगानी गर्ने भएको छ। सरकारको प्रस्तावअनुसार सो परियोजनामा बैंकले २६ अर्ब लगानी गर्नेछ ।
यसैगरी, बैंकले पोखरा–बेनी–जोमसोङ सडकलाई स्तरोन्नति गर्ने परियोजनाका लागि १६ अर्ब लगानी गर्ने भएको छ। उक्त सडकको स्तरोन्नतिपछि प्रदेश नं ४ कै आर्थिक विकास र नेपाल–चीनबीच सम्पर्क सञ्जाल विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ।
यस्तै, बैंकले जलविद्युत् परियोजनामासमेत लगानी गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै अर्थमन्त्री कार्कीले शारदा बबई जलविद्युत् आयोजनामा २० अर्ब लगानी गर्ने विषयमा प्रक्रिया अगाडि बढेको बताए। सो परियोजनाको क्षमता ९३ मेगावाटको छ।
यस्तै नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाउन लागेको ८७ मेगावाट क्षमताको तामाकोसी पाचौंमासमेत बैंकको १८ अर्ब लगानी हुनेछ। सो परियोजनामा लगानी गर्ने सम्बन्धमा पनि बैंकले सहमति जनाइएको छ।
काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली सुधार र तराई मधेसको व्यवस्थित सहरीकरणसम्बन्धी परियोजना तत्काल अगाडि बढ्ने र अन्य परियोजना क्रमशः प्रक्रियामा जानेछन्।
अर्थसचिव शान्तराज सुवेदीले सरोकारवाला मन्त्रालयले जतिसक्दो चाँडो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर उपलब्ध गराउँछन् त्यत्ति नै छिटो रकम उपलब्ध हुने जानकारी दिए।
बैंकमा बेलायत क्यानडा, चीनले लगानी गर्ने तयारी गरेको सन्दर्भमा थपिएको लगानी अल्पविकसित देशमा लगानी गर्ने कार्ययोजनासमेत अगाडि बढेको र नेपालले विशेष फाइदा लिन सक्ने सचिव सुवेदीको भनाइ छ ।
पूर्वाधार बैंकले अङ्गीकार गरेको ‘छरितो, स्वच्छ र हरित बैंक’को अवधारणा बमोजिम वातावरणमैत्री पूर्वाधार निर्माण, न्यून वा शून्य कार्बन उत्सर्जन गर्ने परियोजना कार्यान्वयन र एसियाली मुलुकमा रहेको गुणस्तरीय पूर्वाधारको अभाव पूर्ति गर्नेबारेमा छलफल भएको थियो। रासस