काठमाडौंः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पैसा लिएर चुनावमा गएको भन्दै आफूविरुद्ध राजपाका नेताले लगाएको आरोपको प्रमाण पेश गर्न चुनौती दिएका छन्।
अध्यक्ष यादवले विज्ञप्तीमार्फत आरोपको खण्डन गर्दै आरोप प्रमाणित गर्न राजपालाई चुनौती दिएका हुन्।
उनले भनेका छन्,‘जसले यस्तो घटिया आरोप लगाएको छ, उसले आरोप पुष्टि गर्न तत्काल प्रमाण पेस गरोस्, तर प्रमाण दिन सक्दैन भने मधेसी जनतासँग सार्वजनिक रुपमा माफी मागोस्।’
राजपाको राजनीति दिशाहीन र औचित्यहीन भइसकेकोले दिग्भ्रमित नेताहरुले सन्तुलन गुमाएर यस्तो घटिया अभिव्यक्ति दिन थालेको यादवले टिप्पणी गरेका छन्।
राजपा आफैं बाहिरबाट परिचालित पार्टी भएको टिप्पणी गर्दै अध्यक्ष यादवले मनिष सुमन आफैंले कसैको पैसा खाएर यस्तो घटिया आरोप लगाएको हुन सक्ने जिकिर गरे। उनले भने,– ‘अरुमाथि यसरी आरोप लगाउने राजपा जस्तो पार्टीको आयश्रोत के हो ? कहाँबाट संचालित छ ? कसरी चलेको छ ? यसको जवाफ राजपासँग छ ?’
राजपा नेताहरुसँग राजनीतिक एजेण्डा नै नभएकाले अरुको चरित्र हत्या गर्ने, निराधार भ्रम सिर्जना गर्ने र बदनियतपूर्ण आरोप लगाउने जस्ता घटिया कार्यमा उत्रेको यादवले बताए। ‘यस्ता वाहियात अभिव्यक्तिले प्रमाणित हुन्छ कि राजपा नेताहरु आन्दोलनबाट विचलित भइसकेका छन् । राजपाको यस्तो तल्लोस्तरको गैरजिम्मेवार हर्कत मधेसका लागि घातक छ’– अध्यक्ष यादवले भने।
अध्यक्ष यादवले राजपा नेताहरुलाई सन्तुलन नगुमाई संयमित रहन, निष्ठा एवं एजेण्डामुखी राजनीति गर्न आग्रह गरे। राजपा नेता मनिश सुमनले सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा यादवमाथि सरकारसँग पैसा लिएर चुनावमा गएको आरोप लगाएका थिए।