PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

जैविकमार्ग र वन्यजन्तुको सुरक्षा किन चुनौतीपूर्ण ?



रासस

जैविकमार्ग र वन्यजन्तुको सुरक्षा किन  चुनौतीपूर्ण  ?

  • नारायण ढुङ्गाना -
चितवनः चुरे र महाभारत पहाड जोड्ने जैविकमार्गबाट चितवनको टिकौली जङ्गलमा बाघ, गैँडा, चित्तल, जरायोलगायत संरक्षित वन्यजन्तु दैनिकजसो नै आउजाउ गर्छन्। 

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको बीचमा पर्ने यो जैविकमार्ग (करिडोर) संरक्षणका हिसाबले अतिसंवेदनशील मानिन्छ। 

गतवर्ष टिकौली जङ्गलको झन्डै सात किलोमिटर क्षेत्रमा १० वटा सिसी क्यामेरा जडान गरिएको थियो । अहिले छवटा क्यामेराले मात्र काम गरिरहेको छ। 

सवारी चालकलाई यहाँको संवेदनशीलताबारे जानकारी दिई नियमन गर्ने, गाडी रोक्न नदिने, विस्तारै चलाउन लगाउने र गल्ती गरे कारबाही गर्ने तथा फोहर व्यवस्थापनलगायत उद्देश्यले ठूलो लगानीमा राजमार्गका विभिन्न क्षेत्रमा क्यामेरा जडान गरिएको थियो। 

अहिले ती क्यामेरा प्रभावकारी बन्न सकेका छैनन्। क्यामेरा राखिएको मात्रै छ, त्यसको उपयोग प्रभावकारी हुन सकेको छैन। बेलाबेलामा क्यामेराकै अगाडि गाडी रोकिन्छन्, यात्रुले क्यामेरातिरै फर्केर पिसाब फेरेका दृष्य कैद भएका छन्, वन्यजन्तुलाई गाडीले हाने पनि न्यूनमात्रै कारबाही हुन गरेका छन्। 

शनिबार साँझ सशस्त्र वनरक्षक तालिम केन्द्रमा रहेको सिसी क्यामेराको नियन्त्रण कक्षबाट दृष्यहरु हेर्दा पनि जथाभावी गाडी रोक्ने र मानिस जङ्गल तथा सडकछेउमै दिसापिसाब गर्ने गरेको दृष्य देखिए। 

जथाभावी गाडी रोकिएका छन्, फोहर यत्रतत्र छ । कतिपय बेला गाडी रोकेर केटाकेटीले रोमान्स गरेको दृष्यसमेत कैद भएको सिसी क्यामेरा हेर्दै आएका वनरक्षक सरोज काफ्ले बताउँछन् । उनी भन्छन्– “ठाउँका ठाउँ जरिवाना नतिराएसम्म मरे मान्दैनन् ।” यस्ता दृष्यहरु देखिँदा पनि सचेत बनाउनेतिर निकुञ्जको ध्यान जान सकेको छ, न त अन्य सङ्घसंस्थाको नै ध्यान पुगेको छ। 

बरु सवारी चालकको लापर्बाहीले बेलाबेलामा गाडीको ठक्करबाट वन्यजन्तु मरेका घटना वर्षेनी घट्दै आएका छन्। विडम्बना त के छ भने यस्ता आपराधिक घटना तथा बेलाबेलामा हुने सवारी दुर्घटनाका दृष्य भने छिटफुटबाहेक कैद गर्न सकेको छैन। 

घटना हुँदा कुनैबेला क्यामेरा बन्द भएका थिए। कुनैबेला विद्युत् नभएर चलेको थिएन। कुनैबेला विविध समस्या आएको सशस्त्र वनरक्षक तालिम केन्द्रले जनाएको छ । कुनैबेलाका घटना भने क्यामेराले भेट्ने स्थानभन्दा बाहिर भएका छन्। 

वनरक्षक तालिम केन्द्रका सुबेदार रामदयाल शाह सिसी क्यामेराले देखाएका दृष्यअनुसार कडाइ रुपमा प्रस्तुत हुनुपर्ने बताउँछन्। चितवन निकुञ्जका प्रमुख संरक्षक अधिकृत रामचन्द्र कँडेल अझैपनि व्यवस्थापकीय कमजोरी रहेको भन्दै सुधार गर्ने बताउँछन्। 
 

यसरी सुरु भएको थियो अभियान 

चितवनको भरतपुर र रत्ननगर जोड्ने जैविक मार्ग टिकौली जङ्गलमा वन र वन्यजन्तुको संरक्षणका लागि कडाइ गर्न २०७३ असार ३० गतेबाट सिसी क्यामेराले निगरानी थालेको थियो। त्यसको एक महिना निकुञ्जका अधिकारी, सेना, वनरक्षक तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा सडकमै कार्यक्रम भए। 

चालकलाई सम्झाउँदै जानकारी दिने र अटेर गरे कारबाही गर्ने चेतावनी दिइयो । त्यसको करिब एक महिना कार्यक्रम प्रभावकारी देखियो । फोहर फाल्न रोकिएको थियो । चालकहरु हत्तपत्त गाडी रोक्दैन्थें । रोकिहाले पनि वन रक्षक आएर अभियानबारे सम्झाएर पठाउँथे । पछि विस्तारै कार्यान्वयनको तह फितलो बन्दै गयो। 

अहिले झन्डै एकवर्ष पुग्नैलाग्दा सिसी क्यामेरा उपयोगविहीन भएका छन् । सशस्त्र वनरक्षक तालिमकेन्द्र टिकौलीका कर्मचारीहरु दृश्य अभिलेख राख्ने, हेर्ने र बस्नेमात्रै गर्छन् । व्यावहारिक कार्यान्वयनको काम एकवर्षमा एकपटक पनि भएको छैन। 

‘संरक्षणका लागि एक मिनेट’ नारासहितको प्रचार अभियान नै सुरु गरेर जैविक मार्ग र वन तथा वन्यजन्तुको संरक्षण अभियान आफैँमा महत्वपूर्ण हो। यो अभियानको उद्देश्य भनेको एक मिनेट गाडी रोकेर चालक सहचालकलाई संरक्षणबारे चेतना दिने, सिसी क्यामेराले निगरानी गरेको बारे जानकारी दिने र पछि यस्ता क्रियाकलाप पाइए कारबाही गर्ने भनेर सुसूचित गराउने थियो। तर त्यो कार्यक्रम अहिले उद्देश्यमै सीमित भएको छ। 

संवेदनशील क्षेत्रमा हेल्चेक्र्याईंले अनाहकमा वन्यजन्तुको ज्यान जाने गरेको छ भने मानिसको जोखिम उत्तिकै बढ्दो छ । अझ फोहर फाल्ने गर्नाले जैविक विविधता र दुर्लभ वन्यजन्तुमै नराम्रो असर गरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउँछन् । उनी सिसी क्यामेराले काम गरे पनि एक्सनमा भने जान नसकिएको स्वीकार गर्छन्। 

वन्यजन्तु घटनामा कारबाही न्यून 

गएको एक वर्षमा चितवनमा सवारीसाधनबाट वन्यजन्तुमाथि २२ वटा घटना भएका थिए। त्यसमध्ये १३ वटा टिकौलीको जैविक मार्गक्षेत्रमा भएको छ। त्यसमा पनि जङ्गलभित्रै सातवटा र केही छेउको सिँचाइगेट नजिक छवटा घटना भएको जिल्ला वन अधिकृत केदारनाथ पौडेल बताउँछन्। उनका  अनुसार त्यसमा तीनवटा घटनामा मात्रै गाडी पक्राउ परेका छन्। अरु सबै फरार छन्। 

त्यसको अघिल्लो वर्ष यही सडकमा १५ वटा वन्यजन्तुलाई गाडीले हानेर मारेको तथ्यङ्क छ। तर वन र निकुञ्जको तथ्याङ्कमा पाँचवटा गाडीमात्रै कारबाहीमा परेका छन्। यसरी गाडीले वन्यजन्तु किचेमा २० हजार जरिवाना र दुई वर्षसम्म कैद हुने सजाय ऐनमा छ। अझ गैँडा, बाघ र हात्तीलाई ठक्कर दियो भने सजाय थपिने निकुञ्जले जनाएको छ। 

संरक्षणकर्मी रामपृत यादव यति महत्वपूर्ण वन्जयन्तु र जैविक विविधताका विषयमा मानिस अझै संवेदनशील नभएकामा चिन्ता प्रकट गरे । 

फोहर पनि थुप्रिँदै 

भरतपुरको गोन्द्राङदेखि रत्ननगरको टिकौलीसम्मको सात किलोमिटर क्षेत्रमा अहिले दर्जनौँ स्थानमा विभिन्न प्रकारका फोहर फालिएका छन् । जसकारण फोहरको थुप्रो बढ्दै छ। 

कतिपय फोहर नजल्ले र नकुहिने प्रकारका छन्। प्लास्टिक, कौट्टन, कपडा, अन्य काठका टुक्रा प्लाईलगायतका फोहर यत्रतत्र देखिन्छन् । वन्यजन्तुले यस्ता टुक्रा खायो भने पाचन प्रणालीलाई नै असर पुर्याउन सक्छ। 

निकुञ्जले प्लास्टिकजन्य वस्तु र नजल्ने वस्तुलाई जङ्गल क्षेत्रमा पूर्ण प्रतिबन्ध लगाएपछि लुकीलुकी काम भइरहेका छन्। गाडीमा ल्याएर अनि बोरामा हालेर फोहर फाल्ने क्रम पनि देखिएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell