विराटनगर महानगरपालिकाको चुनावमा प्रमुख प्रतिपक्षी एमाले र सत्तापक्षीय गठबन्धनमा सामेल फोरम लोकतान्त्रिक बीच तालमेल हुँदा कनिका विराटनगरमा थिइ। उसलाई यो तालमेल अचम्मको लागेको थियो। राजनीतिमा जे पनि हुने रहेछ। यो घटनापछि कनिकाले यहाँ बस्नुको कुनै औचित्य देखिन। असार १४ गतेसम्म यहाँ बस्नु पर्यो भने उ त ध्वाँसी भै हाल्छे। यति गर्मी कहिल्यै भोगेकी थिइन जीवनमा।
गर्मीमा मधेशका मानिस दिउँसो काम गर्दैनथे। उनीहरु बिहान–अपरान्ह खेत खलिहानमा हुन्थे। दिउँसो घरमा आराम गर्दथे। बितेको सात दिनदेखि कनिकाको दिनचर्या यस्तै थियो। बिहान बिहान विभिन्न दलका नेता र कार्यकर्तासँग भेट्ने र बेलुका नगरका आवश्यकताका बारे स्थानीय प्रतिष्ठित मानिसहरुसँग छलफल गर्ने।
उसलाई विराटनगर साह्रै रमाइलो पनि लागेको थिएन। देशकै दोस्रो ठूलो शहर भइकन पनि यहाँ ह्याङ आउटस्, क्लब र ढङ्गको रेष्टुराँ थिएन। फेसन पनि कस्तो कस्तो। यो गर्मीमा स्लीभलेस लगाउन पनि डराउनुपर्ने। केटा–केटीहरुको जीवन शैली उहिले प्रेमपत्र लेखेको जस्तो। मोबाइलमा पनि फेसबुक र मेसेन्जरको मात्रै विगविगिदेखि कनिकाले।
चुनावको मनोनयन सकिएको दोस्रो दिन कनिकाले सुदिप्तीलाई फोन गरेर आफू फर्किन लागेको जानकारी दिइ।
सुदिप्तीले सुझाव दिइ,' त्यसो भए तँ मधेश घुम्दै आइज। अन्त चुनाव हुँदैगर्दा मधेशको अवस्था कस्तो देखियो? इट वील वी इन्टरेस्टिङ टु नोट। हवाइ जहाजमा आइस भने यू वील मिस सो मेनी थिङ्स।'
फोन वार्ता सकिएपछि उसले प्लेनको टिकट क्यान्सिल गरी। होटेलको रिसेप्सनमा फोन गरेर गाडीको व्यवस्था गरी। त्यसपछि नुहाउन पसी बाथरुम। कोठा चीसो थियो एयरकण्डिसनले। बाथरुममा एसीको प्रभाव थिएन। हप्प गर्मी थियो। नुहाउने पानी तताउने व्यवस्था भए पनि चिस्याउने उपाय थिएन। नुहाएर उसले कफी मगाई। बितेको एक सातामा उसले अर्ग्यािनिक कफीको स्वाद बिर्सिइ सकेकी थिए। उसलाई फेरि एकपल्ट लाग्यो, यति ठूलो शहरको यति ठूलो होटलमा कफी बनाउने मेसिन पनि छैन। कफी स्टोर पनि छैन। सोच्दा सोच्दै उसको कफी आइपुग्यो। इन्स्ट्यान्ट कफी।
कफी भ्याएर उ निस्किइ। सामान अगाडि नै लोड भै सकेको थियो। विराटनगरबाट कोशी पुल आइपुग्दासम्म सयौं कोणसभा, निर्वाचन आयोगको आचार संहिताको धज्जी उडाउँदै विभिन्न पार्टीले मतदाताको घर घरमा बाँडेका टी सर्ट लगाएर जिन्दावाद भनी रहेका हजारौं युवा अनुहारहरु। कनिकालाई रमाइलो लागेको थियो। सुदिप्तीको आइडिया आफैंमा ब्रिलियन्ट थियो।
कोशी तरेपछि कंकालिनी देवीको मन्दिरदेखि नै सडक र बजारमा चहलपहल कम थियो। मधेश प्रदेशमा न मनसूनको थोपो झरेको थियो न चुनावको बाछिटा परेको थियो। सडकमा सवारी साधन थिएनन्। सुनसान सडक र गर्मीले आहत आत्माहरु। बरमझिया आएपछि उसका आँखा एकसाथ सयौं साइनबोर्डमा नाच्न थाले : बुढो बाजेको पेडा पसल, बुढो बाबाको पेडा पसल, असली शुध्द बुढो बाबाको पेडा पसल...उसको दिमाग चकरायो। सबै बुढो बाबाको पेडा पसल। सबै असली।
बन्दका कारण यी पेडा पसलहरु केही बन्द थिए। म्याडमको रुची पेडामा देखेपछि ड्राइभरले गाडी सत्यनारायण साहको पसल अगाडि लगेर रोक्यो। उ गाडीबाट ओर्लिएर पसलमा पुगी।
‘बन्दीले व्यापारमा असर पारेको छ। तीनचार दिनदेखि पेडा बनाउन पाएको छैन। बनाएर के गर्नु? सबै बिग्रिन्छ। हाम्रो व्यापार हाइ-वेकै कारण चलेको हो। हाइ-वे नै बन्द भएपछि व्यापार त सकिइ हाल्यो नि,’ सत्यनारायणको छोराले आफ्नो रामकहानी सुनायो। कनिकाले एउटा कोक मागी। गर्मी बढ्दै थियो।
(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)
यो सिरिजका थप गाथा
चाकरीबाजले घेरिएका देउवाको चियोचर्चामा कनिका
कहिले गुण्डाराज कहिले पुलिस राजइलेक्सनको बोरिङ अपडेट छाडेर रोमान्टिक बनेकी कनिका
कुलमानमा कनिकाको आँखाअदालतमा कनिका
कनिकाको मधेश यात्रा
कान्तिपुर मेयरमा बाबुराम
कनिकाको नयाँ वर्ष
महाराज महारानीको भोजमा राष्ट्रपति
चुनावी चक्रव्यूहमा कनिकाकान्तिपुर गाथा : भ्रममा रमाएका न्यायमूर्तिहरु
किन डराएका छन् देशका पत्रकार?
सुन, पुलिस, गीत र गुण्डाको सिक्वेल
भ्यालेन्टाइन किसको सोसल रियाक्सन
अशान्त कान्तिपुरका केही छिद्रहरु
डस्टमाण्डूमा जारी छ चमत्कार