
काठमाडौंः नेपाल–चीन कुटनीतिक परामर्श संयन्त्रको ११ औँ बैठक मङ्गलबार काठमाडौंमा हुँदैछ ।
चार वर्षको अन्तरालमा हुन लागेको बैठकमा नेपाल–चीन सम्बन्धका सबै पक्षका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिए।
बैठकमा भाग लिन चीनको परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन यु पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार अपराह्न काठमाडौं आइपुगेका छन्।
बैठकमा चीन सरकारको सहयोगमा नेपालमा जारी विकास¬–निर्माणका आयोजना, चिनियाँ सहयोग तथा लगानी वृद्धिलगायत आपसी सहकार्य र सहायताबारे छलफल हुनेछ।
सचिवस्तरीय उक्त संयन्त्रको बैठकमा नेपाल र चीनबीच विगतमा भएका सहमति कार्यान्वयनका साथै चीनले अघि सारेको बृहत् परियोजना ओबोरमा नेपालले हस्ताक्षर गरिसकेका सन्दर्भमा त्यसबाट नेपालले प्राप्त गर्ने सहायताबारे पनि छलफल हुने बताइएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग चिनियाँ प्रतिनिधिमण्डलले बुधबार अपराह्न बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
साथै चिनियाँ टोलीले भूकम्पबाट क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रमा जारी पुनःनिर्माणबारे जानकारी लिनाका साथै चिनियाँ सहयोगमा निर्मित निजामती अस्पताल स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। रासस