काठमाडौँ: दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले आज चुनाव चिन्ह पाउँदैछन्। राजनीतिक दलका उम्मेदवारले दलीय चिन्ह पाउँनेछन्।
आयोगले यसअघि तय गरेको पूर्वनिर्धारित कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ताको कार्यक्रम सम्पन्न भइसकेपछि चुनाव चिन्ह दिइनेछ। निर्वाचन आयोगको कार्यतालिका आज बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ।
असार १४ गते दोस्रो चरणमा ३३४ स्थानीय तहमा निर्वाचन हुँदैछ। ३५ जिल्लामा हुने निर्वाचनले यो पटक १५ हजार ३८ जनप्रतिनिधि चयन गर्नेछ।
दोस्रो चरणमा एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदैछ। निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाता सहभागी हुँदैछन्।
त्यस्तै, निर्वाचनका लागि चार हजार ५८१ मतदानस्थल र आठ हजार ३ सय ६४ मतदान केन्द्र तोकिएका छन्। निर्वाचनमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले जनाएको छ।