
चितवनः नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले राष्ट्रिय जनता पार्टीको समझदारीमा नै २ नम्बर प्रदेशको निर्वाचन सारिएको बताएका छन्।
चितवनको भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै निधिले राजपाले २ र ५ नम्बर प्रदेशको निर्वाचन सार्न माग गरेको भएपनि कानुनी समस्याका कारण २ नम्बर प्रदेशको मात्रै निर्वाचन असोजमा सारिएको बताए।
दोस्रो र तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो शक्ति हुने दाबी गर्दै नेता निधिले असार १४ गतेको निर्वाचन प्रारम्भ भइसकेकाले कसैको तागतले रोक्न नसक्ने बताए।
फरक प्रसङ्गमा निधिले भरतपुर महानगरपालिका–१९ को पुनः मतदान गर्न सर्वोच्चले रोक्न नहुने बताए। निर्वाचन आयोगले पुनः मतदान गर्ने भनिसकेकाले अब सर्वोच्च अदालत संवैधानिक आयोगको निर्णयविरुद्ध जान नसक्ने बताए।
सर्वोच्चको निर्णय आइसकेपछि कुनै पनि समयमा वडा नम्बर १९ को मतदान हुने भएकाले निर्वाचनमा जुट्न नेता कार्यकर्तालाई आग्रह गरे। रासस