
नयाँदिल्लीः भारतमा गर्भवतीले के खान हुने र के नहुने भनी एक सरकारी कार्यालयले नै जारी गरेका विज्ञापन एवम् सन्देशको विषयलाई लिएर स्वास्थ्यका विज्ञहरुबीच नै विवाद सुरु भएको छ।
सरकारी स्वास्थ्य कार्यालय योगा र प्राकृतिक चिकित्सासम्बन्धी भारतीय केन्द्रीय अनुसन्धान परिषद्ले आफ्नो प्रकाशनमार्फत जारी गरेको सन्देशका विषयमा विवाद सुरु भएको हो।
परिषदले हालै आफ्नो प्रकाशनमार्फत जारी गरेको सन्देशमा मासु र अन्डाबाट गर्भवतीलाई टाढै रहन भनेको छ।
भारतमा समय समयमा यस्ता शाकाहारी व्यहारका बारेमा विभिन्न नीति बन्ने गरेका छन्। सरकारी रेडियो र टेलिभिजनहरुमा पनि यस्ता विज्ञापन निकै आउने गर्दछन्।
सरकारी कार्यालयले प्रकाशन गरेको सन्देशलाई सरकारको आधिकारिक कार्यक्रम अथवा स्वास्थ्य नीतिकै रुपमा लिनुपर्ने हुन्छ।
सन्देशमा भनिएको छ– यस्ता महिला मासु, मासुजन्य पदार्थ, अन्डाबाट टाढै रहनु पर्छ र यौन क्रियाकलाप पनि सो समयमा गर्नुहुँदैन।
यसै सन्देशसम्बन्धी विज्ञापनहरु पनि बनेका छन् र भारतीय सरकारी मिडियाले पनि यसलाई आधिकारिक स्वास्थ्य सन्देशका रुपमा प्रचार गर्ने गरेका छन्।
गर्भवती अवस्थामा रहेका महिलाले आध्यात्मिक चिन्तत गर्ने, आजापूजा गर्ने, ठूला एवम् सफल व्यक्तित्वहरुका जीवनी पढ्ने र आफूलाई सधैँ शान्त स्थान र अवस्थामा राख्ने गर्नुपर्दछ– सो सन्देशमा भनिएको छ।
तर, यस्ता सन्देशहरुलाई आधुनिक चिकित्सा विज्ञानका विज्ञ एवम् चिकित्सकहरुले भने उपहासको संज्ञा दिएका छन्। उनीहरुले भनेका छन्– यो सन्देश हास्यास्पद छ, यसको कुनै वैज्ञानिक पुष्टयाईँ दिइएको छैन त्यसैले व्यवहारिक छैन।
आधुनिक चिकित्सा विज्ञानका व्यक्तिहरु र स्वास्थ्य सम्बन्धी विज्ञहरुले यसलाई अवैज्ञानिक र अव्यवहारिक भनेका छन्। उनीहरुले यस्ता विज्ञापन र सन्देशहरु हटाउनुपर्ने बताएका छन्।
उनीहरुले भारतमा प्रसुतीजन्य जटिलताका कारण कैयौँ महिलाको बर्षेनी ज्यान जाने गरेकोमा यस्ता समस्याको सम्बोधन सरकारले कममात्र गरेको बताएका छन्।
चिकित्सकहरुले धेरै आमाहरुको बच्चा जन्माउने ब्यथा र सुत्केरीजन्य जटिलताका कारण ज्यान जाने गरेकोले त्यसतर्फ कदम चाल्नुको सट्टा उल्टै यस्ता विज्ञापनहरु दिनुलाई हास्यास्पद भनेका छन्।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार सन् २०१५ मा मात्र बच्चा जन्माउने क्रममा कम्तीमा पनि ४५ हजार आमाको ज्यान गएको छ।
भारतमा प्रति एक लाख जिवीत जन्ममा १७४ जना आमाको ज्यान जाने गर्दछ। यसको अर्थ हो एक लाख जना जिवीत बच्चा जन्मिदा १७४ जना आमाले ज्यान गुमाउनुपर्ने हुन्छ।
यो तथ्याङ्क हेर्दा भारत उच्च मातृमृत्यु दर भएका देशमा पर्दछ। संयुक्त राज्य अमेरिकामा भने एक लाख जिवीत बच्चा जन्ममा बढीमा १४ जनामात्र आमाको निधन हुने गरेको तथ्याङ्क छ।
‘डाइटिसियन्’ (सन्तुलित खाना विषयका विज्ञ)ले पनि यो सन्देशलाई हास्यास्पद भनेका छन्। महिलामा आइरनको मात्रा पूरा गर्नका लागि र त्यो पनि गर्भवती अवस्थामा त झन अण्डा र मासुजन्य पदार्थ खानैपर्ने उनीहरुले बताएका छन्।
उनीहरुको तर्क छ– भारतका महिलामा धेरैजसो रक्तअल्पता र आइरनको कमी देखिने गरेको छ भने बालबालिकामा कुपोषणको समस्या छ। यस्तो अवस्थामा झन बढी प्रोटीन र आइरनयुक्त खानेकुरा नदिँदा थप समस्या हुनेछ।
आलोचकहरुले भारतमा हाल भारतीय जनता पार्टीको सरकार रहेको र सो दल हिन्दूवादी भएकोले यस्ता मासुजन्य पदार्थहरुबाट टाढा रहने खालका नीतिहरु निर्माण गरेको आरोप लगाउछन्।
यस विषयमा भारत सरकारको आधिकारिक धारणा भने केही आएको छैन। रासस/एएफपी