PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

कर्मचारीलाई सहरी विकास मन्त्रीको निर्देशनः फाइल अड्काउने काम बन्द गर्नुस्



रासस

कर्मचारीलाई सहरी विकास मन्त्रीको निर्देशनः फाइल अड्काउने काम बन्द गर्नुस्

काठमाडौंः सहरी विकासमन्त्री प्रभु साहले फाइल अड्काउने काम बन्द गर्न मन्त्रालय र सो अन्तर्गतका निकायलाई निर्देशन दिएका छन्। 

मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, काठमाडौँ उपत्यका विकास प्राधिकरण लगायतका निकायको कामकारबाहीबारे जानकारी लिएपछि मंगलबार उनले आफ्नो टेबुलमा आएको फाइल तुरुन्त अघि बढाउन कर्मचारीलाई निर्देशन दिए। 

मन्त्री साहले भने,“फाइल महिनौँ अड्काएर राख्ने गरेको गुनासो धेरै छ, हुने काम भए तुरुन्त अघि बढाइदिनुहोस्, नहुने काम भए कारण खोलेर जानकारी दिनुहोस्, क्षेत्राधिकार बाहिरको विषयवस्त आए आफूभन्दा माथिल्लो निकायमा पठाइदिनुहोस्।” 

कसको शाखामा गएर कति दिन फाइल अड्कियो भन्ने विवरण लिएर सोही अनुरुपको कारबाही गरिने व्यवस्था मिलाउन आफूले सचिवलाई निर्देशन दिइसकेको उल्लेख गर्दै मन्त्री साहले मन्त्रालयअन्तर्गतका निकायबाट भइरहेको भौतिक पूर्वाधार निर्माणका काम समयमै सम्पन्न नहुनुका कारण खोज्नुपर्ने बताए। 

उनले भने,“ठेक्का दिने निकायका हाकिम र ठेकेदारको मिलेमतोको कारण निर्माण कार्य गुणस्तरीय नहुने र ढिलाइ हुने गरेको आम गुनासो छ, यसबारे तपाईंहरु सचेत हुनुहोस्।” 

उनले समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कालोसूचीमा राखी कानुन अनुसारको कारबाही अगाडि बढाउन पनि निर्देशन दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell