टीकापुरः गृहमन्त्री जर्नादन शर्माले टीकापुरमा भएको घटनामा कसैलाई पनि अन्याय हुन नदिने बताएका छन् ।
नेकपा माओवादी केन्द्र कैलालीले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा गृहमन्त्री शर्माले टीकापुर घटनामा पीडित भएका सबैलाई न्याय दिइने बताए । टीकापुर घटना सुनियोजित भएको बताउँदै गृहमन्त्री शर्माले त्यस घटनामा माओवादीलाई फसाउने प्रयास गरिएको बताए।
थारु र पहाडी समुदायलाई लडाउनका लागि टीकापुर घटना गराइएको दाबी गर्दै उनलेअब त्यसलाई चुनावी माध्यमबाट चिर्न आवश्यक रहेको बताए।
“जनता र प्रहरीबीच खेलेर फाइदा उठाएका विभाजनकारीले घटना गराएका हुन”–उनले भने, “तर हाम्रो जनताप्रति लोकप्रियता बढेको देखेर केही दलले हाम्रो नाम मुछेका हुन्।”
जनताका एजेण्डा संविधानमा दर्ज गराउने एक मात्र पार्टी माओवादी भएको उल्लेख गर्दै गृहमन्त्री शर्माले आफूले अरुजस्तो भ्रष्टाचार गर्ने नभई मुलुक र सङ्गठनको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस