रोल्पा : रोल्पामा चारजना पत्रकार आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न दलबाट प्रतिस्पर्धा गर्ने गरी चुनावी मैदानमा उत्रिएका छन्।पत्रकारिता छाडेर यसरी जनप्रतिनिधि हुने आकाङ्क्षा लिएका पत्रकारमा दुई महिला र दुई पुरुष रहेका छन्।
यसरी प्रतिस्पर्धामा उत्रने पत्रकारमा प्रेस युनियन रोल्पाका अध्यक्षसमेत रहेकी जुनकिरी सञ्चार साप्ताहिककी प्रकाशक सम्पादक कविता उपाध्याय सुवर्णावती गाउँपालिकाको उपाध्यक्षमा प्रतिस्पर्धा गर्दैछन्।
सोही गाउँपालिकाको वडाध्यक्षमा नेकपा (एमाले)का तर्फवाट उमेदवारी दर्ता गराएका अर्का पत्रकार हुनुहुन्छ, शशीराम कुँवर। लामो समय माओवादी आन्दोलनमा लागेका कुँवर केही दिनअघि नेकपा (एमाले) प्रवेशसँगै पत्रकारितासमेत छोडी वडाध्यक्षमा लड्ने लागेका हुन्। कुँवर लामो समय स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकार हुन्।
जिल्लाको सुनछहरी गाउँपालिकाको वडाध्यक्षका प्रत्याशी रहेका अर्का पत्रकार हुन् अमरजित पुनमगर। सामुदायिक रेडियो जलजलाको स्थापनाकालदेखि नै कार्यरत पुनमगर नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा लड्ने भएका छन्। नेपाल पत्रकार महासङ्घको ५ नं प्रदेश सभासद्समेत रहेका पुनमगर न्यूज २४ को जिल्ला संवाददातासमेत थिए।
यसैगरी, पत्रकारिता त्यागेर जनप्रतिनिधि हुन चुनावी मैदानमा उत्रिएकी अर्की पत्रकार हुन् तेजकुमारी विष्ट। स्थानीय सञ्चारमाध्यममा काम गर्ने विष्ट नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रोल्पाको कोषाध्यक्षसमेत हुन्। विष्ट सुवर्णावती गाउँपालिकाको १ नं वडाबाट नेपाली काँग्रेसका तर्फबाट महिला सदस्यमा प्रतिस्पर्धा गर्दैछन्। रासस