
नेपालगञ्जः दोस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेको ग्रामीण क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएको छ।
निर्वाचनमा मतपत्रलाई पानीबाट जोगाउन, सुरक्षित तवरबाट मतपेटिका नेपालगञ्जसम्म पुर्याउन र मतदान केन्द्रसम्मको बाटो सहज बनाउनेलगायतका व्यवस्थापकीय चुनौती थपिएको हो।
बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले भने,‘अन्य सुरक्षा अवस्था बाँके जिल्लामा चुस्त बनाएका छौं, तर मतदानको दिन र त्योपछि पानी पर्यो भने हाम्रो मुख्य चुनौती मतपत्रलाई कसरी सुरक्षित बनाउनेतर्फ नै केन्द्रीत हुने भएकाले त्यसैअनुरुपको योजना जिल्ला सुरक्षा समितिले निर्माण गर्नेछ।’
विशेषतः बाँके जिल्लाका राप्ती नदीपारीका ग्रामीण क्षेत्रमा पुग्न पक्की सडक छैन, वर्षात्का समयमा नदीमा पानीको बहाव अधिक हुने भएकाले सवारी साधनलाई आउजाँउ गर्न कठिन हुन्छ।
बाँकेमा आजदेखि मनसुने झरी पनि सुरु भएको छ। निर्वाचन आउन अझै एक साता बाँकी भएकाले निर्वाचनका दिन ठूलो झरी नपरे हुन्थ्यो भन्ने कामना यहाँका राजनीतिक दल, उम्मेदवार र मतदाताले गरेका छन्।
अर्कोतर्फ जिल्ला निर्वाचन कार्यालयले उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेपछि चुनावी प्रचार प्रसारले यहाँ अझ तीव्रता पाएको छ।
नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका तथा बैजानाथपुर, डुडुवा, जानकी, खजुरा, नरैनापुर र राप्ती—सोनारी गाउँपालिका गरी आठ स्थानीय निकायमा ४२१ पदका लागि निर्वाचन हुँदैछ।
कुल दुई लाख ४६ हजार ७८ मतदाताले यो निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने छन्। कुल मतदातामध्ये महिला एक लाख २५ हजार ९३३, पुरुष एक लाख २० हजार ८४ र तेस्रो लिङ्गिी एकजना रहेको जनाइएको छ।
क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख वसन्तराज अधिकारीका अनुसार, जिल्लामा १३६ मतदान स्थलका लागि २९५ मतदान केन्द्रको व्यवस्था गरिएको छ। रासस