
धनकुटाः निर्वाचनमा अवरोध गर्ने र उम्मेदवार अपहरण गर्ने तयारीको योजना बनाइरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले धनकुटाको सिन्धुवा बजारबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका इन्चार्ज आकास र जिल्ला सदस्य एवम् नगर इन्चार्ज राजनलाई पक्राउ गरेको हो।
नेपाल रेडक्रस सोसाइटी धनकुटाको नाममा रहेको बा ३९ प ९०९७ नम्बरको मोटरसाइकल प्रयोग गरी ती दुबै जना उम्मेदवार अपहरणका लागि सिन्धुवा बजार पुगेका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले दाबी गरे।
त्यसैगरी, खाल्सा सहिदभूमी छिन्ताङ गाउँपालिका आँखीसल्लामा निर्वाचन विरोधी गतिविधि सञ्चालन गरिरहेका रणबहादुर राई र कर्ण ज्ञवालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। रासस