.jpg)
काठमाडौंः प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दोस्रो चरणको स्थानीयतहको निर्वाचनमा उम्मेदवारी दर्तामा देखिएको सहभागिता उच्च प्रशंसनीय रहेको बताएका छन्।
सूक्ष्म अनुगमनकर्ता अभिमुखीकरणको आज शुभारम्भ गर्दै प्रमुख आयुक्त यादवले उम्मेदवारी मनोनयन शान्तिपूर्ण र उत्साहजनक रुपमा भएकाले यसले निर्वाचनको माहौल बढाएको बताए।
उनले निर्वाचनको अनुगमका लागि खटिने सूक्ष्म अनुगमनकर्तालाई निर्वाचन प्रचारप्रसारका क्रममा हुनसक्ने आचारसंहिता उल्लंघन र पैसाको चलखेलका गतिविधि रोक्न गहिरो निगरानी राख्न निर्देशन दिए।
यादवले भने,‘कुन उम्मेदवारले कति खर्च गरेका छन्, कति पैसा बाँडेका छन्, मौन अवधिको उल्लंघन भएको छ कि छैन, निर्वाचनको स्वच्छता र मर्यादामा प्रश्न उठाउने काम हुनु भएन, यो निर्वाचनलाई नमूना बनाउने ढंगले काम गर्नु होला।’’
उनले निर्वाचनका लागि स्वच्छ, स्वतन्त्र र भयरहित वातावरण बनाउन सुक्ष्म अनुगमनकर्ताको महत्वपूर्ण भूमिका र जिम्मेवारी भएकाले त्यसमा ध्यान दिन आग्रह गरे ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा ७५ जना सूक्ष्म अनुगमनकर्ता खटिएका छन्।
निर्वाचनका हिसावले संवेदनशील मानिएका स्थानीय तह अन्तरगतका नगरपालिका र गाउँ पालिकामा आयोगले उपसचिव र शाखा अधिकृतस्तरका ७५ कर्मचारीलाई सूक्ष्म अनुगमनकर्ताको जिम्मेवारी दिएर खटाएको हो ।