चितवनः गृहमन्त्री जनार्दन शर्माले प्रहरी संगठनलाई जनताले टिप्पणी नगर्ने गरी पुनर्संरचना गरिने बताएका छन्।
बुधवार चितवनको भरतपुरमा १७३ औं समूहको प्रहरी सहायक निरीक्षक (असई)को पास आउट समरोहलाई सम्वोधन गर्दै गृहमन्त्री शर्माले जनताको टिप्पणी नहुने प्रहरी संगठन निर्माणका लागी आफूले प्रयत्न गर्ने बताए।
गृहमन्त्री शर्माले भने, ‘संघीय स्वरुप अनुरुप संगठनको पुनर्संरचना गर्ने प्रक्रिया छिट्टै अगाडि बढाइनेछ।’
सिपाही वा प्रहरी महानिरीक्षक सबै राष्ट्रप्रति इमान्दार हुनुपर्ने भन्दै गृहमन्त्रीले संगठनभित्र विभाजन र गुटबन्दी राज्यलाई स्वीकार्य नहुने बताए।
‘गुटबन्दी गरे कारवाही हुन्छ’ उनले भने, ‘सिपाहीले पनि ईमान्दार भएर राष्ट्रलाई योगदान दिन सक्छ।’
प्रहरीको बर्दी राज्यको गौरव भएको उल्लेख गर्दै गृहमन्त्रीले बर्दीभित्र जनताको ठूलो आकांक्षा र मनोभावना रहेको बताए।
बुधबार पास आउट भएका १५० जना प्रहरी सहायक निरीक्षकहरुलाई कानुनको रक्षाका लागि बर्दीको सदुपयोग गर्न आग्रह गर्दै गृहमन्त्रीले भने ‘अब प्रहरीमा वृत्ति विकासको खडेरी ब्यहोर्नुपर्दैन, वृत्ति विकासको ढोका खोल्ने प्रविद्धता व्यक्त गर्दछु।’