भक्तपुरः उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल तोडफोड गरेका छन्।
दोलखा भीमेश्वर नगरपालिका– ५ घर भई हाल गठ्ठाघर बस्दै आएकी ३८ वर्षकी उषा बस्नेतको उपचारक क्रममा हिजोराति मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन्।
सामान्य छाती दुखेर स्वास्थ्य परीक्षण गर्न आएको बिरामीलाई गलत इन्जेक्सन दिएका कारण ज्यान गएको आरोप पीडित पक्षले लगाएका छन्।
मृतककी श्रीमान् रामकृष्ण बस्नेतले भने,“हिजो साँझ एकैछिन घुम्न जाउँ भनेर गठ्ठाघरतिर घुम्न निस्किएका थियौँ, उनले छाती दुःखेजस्तो भयो भनेपछि एकपटक चेक गराऔँ भनेर अस्पताल आएका थियौँ, तर अस्पतालकै लापरबाहीका कारण उनको ज्यान गयो।”
आफन्तले मृतकको शव बुझ्न नमानेको र पीडित पक्षका आफन्तले अस्पताल तोडफोड गरेका हुन्।
अस्पतालले भने हृदयघातका कारण बिरामीको मृत्यु भएको दाबी गरेको छ।
तोडफोडबाट अस्पतालको आकस्मिक सेवा, ओपिडी, नगद काउन्टर, नर्सिङ स्टेसनमा क्षति पुगेको अस्पतालले जनाएको छ।रासस