
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको प्रतिनिधिमण्डलले भेट गरी वैदेशिक रोजगारका समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ।
प्रतिनिधिमण्डलले मलेसिया जाने कामदारमाथि विभिन्न एजेन्सीको नाममा भइरहेको आर्थिक शोषण, कतारमा देखिएको समस्यालगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको फोरमका सल्लाहकार प्रज्ञान न्यौपानेले जानकारी दिए।
त्यस अवसरमा प्रधानमन्त्री देउवाले आफू वैदेशिक रोजगारका समस्याबारे जानकार रहेको बताउँदै दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै सरोकारवाला मन्त्रालय र निकाय बोलाएर यस सम्बन्धी बृहत् छलफल गर्ने बताए।
छलफलबाट आएको निष्कर्षका आधारमा वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकारले आफ्नो भूमिका अगाडि बढाउने प्रधानमन्त्री देउवाले बताउनुभएको सल्लाहकार न्यौपानेले जानकारी दिए।
भेटमा प्रधानमन्त्रीले सङ्घको असार ३० गते नयाँ नेतृत्व चयनका लागि हुने २५ औँ साधारणसभामा एकताबद्ध भएर जान फोरमका प्रतिनिधिमण्डललाई प्रधानमन्त्रीले सुझाव पनि दिए। रासस