PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

प्रसूति गृहले सञ्चालनमा ल्यायो मेमोग्राम मेसिन 



रासस

प्रसूति गृहले सञ्चालनमा ल्यायो मेमोग्राम मेसिन 
फोटो श्रोतः Mkomen.org

  • कल्पना पौडेल 
काठमाडौँः परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले मेमोग्राम मेसिन (स्तन क्यान्सर पत्ता लगाउने) सञ्चालनमा ल्याएको छ। 

स्तन क्यान्सर भएको छ वा छैन भनी थाहा पाउन लागि गरिने स्तनको एक्सरे (मेमोग्राम) खरिद भएको दश वर्षपछि मात्र यो मेसिन सञ्चालनमा आएको हो। यसअघि यो मेसिन प्रयोगविहीन अवस्थामा थन्किएको थियो । 

अस्पतालका निर्देशक प्रा. डा। अमीरबाबु श्रेष्ठले त्यो मेसिन खरिद भएको भन्ने जानकारी नभएकाले प्रयोगविहीन भएको बताए। उनले भने,‘यहाँ त क्यान्सरको पनि जाँच हुने भएकाले मेमोग्रामको सुविधा दिने कुरा चल्दा यो मेसिन पहिले नै खरिद भएको तर प्रयोगमा नआएको भन्ने थाहा पाएपछि त्यसलाई मर्मत गरी सञ्चालन गरिरहेका छौं।” 

अस्पतालका वरिष्ठ लेखा अधिकृत चन्द्रबहादुर गुरुङले बिरामीलाई उपचारका लागि गर्नुपर्ने सम्पूर्ण जाँच अस्पतालबाटै उपलब्ध गराउनका लागि मेमोग्राम सेवा निरन्तरता दिने बताए। उनका अनुसार मेमोग्राम गर्नका लागि बिरामीले एक हजार दुई सय रुपैयाँ तिर्नुपर्छ। 

पछिल्लो समयमा महिलामा स्तन क्यान्सरको समस्या बढ्दै गएको पाइएपछि यसप्रति सचेत हुन धेरै महिलाले मेमोग्राम गराउने गरेका छन् । 

भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा रोशन प्रजापतिका अनुसार स्तन क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो नम्बरमा पर्छ।

महिला उमेर पार गर्दै बुढ्यौलीतिर लाग्दा स्तन क्यान्सरको सम्भावना बढ्दै जाने उनले बताए। विभिन्न तथ्याङ्कअनुसार विश्वमा औसत ५० वर्ष उमेर नाघेका महिलामा स्तन क्यान्सरको समस्या बढी देखापर्ने गर्दछ। 

लामो समयसम्म परिवार नियोजनको चक्की खाने, हर्मोनको प्रयोग गर्ने, अनावश्यक विकिरण (एक्सरे) को सम्पर्कमा आउने, बोसोयुक्त खानेकुरा ज्यादा खाने, धेरै मदिरा सेवन गर्ने र अति मोटा महिलामा पनि स्तन क्यान्सरको खतरा हुने चिकित्सकको भनाइ छ। 

नेपाल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठ भन्छन्, “स्तन क्यान्सर एक प्रकारको ट्युमर हो, जुन व्यक्तिको स्तनका कोषिका अस्वाभाविक वृद्धि भएर जान्छ, त्यसलाई क्यान्सर रोग लाग्ने सम्भावना बढी हुन्छ।

यसका कोषिका एकै ठाउँमा मात्र रहन सक्दैनन्, शरीरका अन्य तन्तुमा पनि सर्दै जाने गर्दछ, यसलाई समयमै नष्ट गर्न नसकेमा पूरै शरीरभरि फैलिन गई बिरामीको मृत्यु पनि हुनसक्छ।” 

नेपाल क्यान्सर सोसाइटीकाअनुसार युवती तथा प्रौढ महिलालाई हुने क्यान्सरमध्ये ६० प्रतिशत स्तन क्यान्सर हुन्छ। नेपालमा ३० देखि ५० वर्ष उमेर समूहका सहरी महिलालाई स्तन क्यान्सर बढी मात्रामा भएको पाइन्छ।

यसको यकिन तथ्याङ्क नभए पनि नेपालका न्यूनतम ५० हजार महिला स्तन क्यान्सरबाट पीडित भएको अनुमान छ। 

फेरिएको जीवनशैलीका कारण स्तन क्यान्सरका बिरामी बढ्दै गएको चिकित्सक बताउँछन्। यस रोगबाट बच्न समयमै विवाह गर्नुपर्ने, समयमै बच्चा जन्माई स्तनपान गराउनुपर्ने, व्यायाम गर्ने, मोटोपनबाट बच्ने र खानपानमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell