PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

एकै घरका देउरानी एमाले, जेठानी कांग्रेस उम्मेदवार



पहिलोपोस्ट

एकै घरका देउरानी एमाले, जेठानी कांग्रेस उम्मेदवार

  • चन्द्र खनाल - 
रुपन्देही :हातेमालो गरिरहे झै लाग्ने दुई घरहरु छन्। गुल्मीको सदरमुकाम तम्घासको पुतली बजारमा जोडिएका वल्लो घरमा एमालेको झण्डा फर्रफराई रहेको छ भने पल्लो घरमा कांग्रेसको चारतारे झण्डा। 

त्यसभन्दा नजिकै जिल्ला पार्टी कार्यालय वरपर माओवार्दी केन्द्रको झण्डा त्यसैगरी फहराइरहेको छ। 

तीन पार्टीका झण्डाबीचमा एकै परिवारका जेठानी - देउरानी एउटै पदका लागि दुई अलग–अलग पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन्। 

बिहान चिया पिउने बेला वा कौशीमा कपडा सुकाउने बेलामा जेठानी - देउरानीबीच पारिवारिक गफ चल्छ तर दिनभरी एकअर्का पार्टीविरुद्ध घरदैलोमा व्यस्त हुन्छन् उनीहरु।

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १ को महिला सदस्यबीचको रोचक चुनावी भिडन्त हो यो। उक्त वडामा नेपाली कांग्रेसबाट एउटै घरकी जेठानी लक्ष्मी पाण्डेलाई नेपाली कांग्रेसले महिला सदस्यको उम्मेदवार बनाएको छ भने नेकपा एमालेले सोही पदका लागि उनकी देउरानी गीता पाण्डेलाई उठाएको छ। 

जेठानी - देउरानी  दुवैले आफूले जित्ने दाबी गर्दै नजिकका आफन्तहरुलाई अग्रिम शुभकामना लिन र भोट माग्न व्यस्त छन्। 

जेठानीका पति रामप्रसाद पाण्डे सामान्य छन्। उनलाई चुनावी चहलपहल मतलब छैन्। उनी पत्नीको ठाउँमा ‘हाउस वाइफ’ झै देखिन्छन्। उता देउरानीका पति पदम पाण्डे अध्यापन पेशामा। 

अरु शिक्षकहरु चुनावी प्रचार प्रसारमा व्यस्त भएको देखिए पनि पाण्डे भने  अध्यापन पेशामै भुलेका छन्। तर, उनीहरुका श्रीमतीहरुलाई बिहान चिया पकाउने र पिउने फुर्सदसमेत छैन।

हात जोड्दै मत माग्दै घरदैलो अभियानमा हिँडेका  उनीहरुसँग छुट्टाछुट्टै गरिएको कुराकानीका क्रममा देउरानी गीताले भनिन्– ‘सुरुमा दिदी कांग्रेसबाट उपमेयरमा उठ्ने चर्चा भएपछि मैले दिदीलाई भोट हाल्छु भन्ने ठानेर सदस्यमा एमालेबाट उठेकी हुँ। तर दिदीले उपमेयर नपाएर एउटै पदमा भिड्नु परेको हो, यसले पारिवारिक सम्बन्धमा कुनै असर पारेको छैन।' 

जेठानी लक्ष्मीले पनि पारिवारिक सम्बन्धमा कुनै असर नपारेको र आफूले परिवारका अलवा वडा, टोल छिमेकलाई मिलाएर राख्ने बताइन्।  
दुवैको बोली यस्तो थियो – ‘हामी जेठानी दिदी र बहिनी विरुद्ध जनतामा पुगेका छैनौ, कांग्रेस र एमाले पार्टी पक्ष र विपक्षमा उत्रेका हौं।’ 

कुन बुहारीलाई भोट दिने? सासु आमालाई गाह्रो 

उनीहरुकी ८० वर्षीया सासु देवीकला पाण्डेलाई भने यतिबेला  कुन बुहारीलाई भोट दिनु हुन्छ भनेर कसैले सोध्दा जवाफ दिन निकै गाह्रो परेको छ। 

कान्छी बुहारी गीताको स्याहर सुसारमा बसे पनि जेठी बुहारी लक्ष्मीले त्यतिकै माया र स्याहारसुसार गर्ने भएकाले दुवैलाई हार्न नसक्ने सासुआमाले मनको कुरा मनमै राख्दै भनिन्–‘ अहिले किन भन्न पर्यो र भोट दिने बेला खै कसलाई हाल्छु थाह छैन।’ 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell